नवजीवन सहकारीको नवजीवन खाद्य उद्योगबाट चामल बिक्रि सुरु, पहिलो चरणमा ६२९ क्विन्टल चामल उत्पादन

अत्तरिया,कैलालीको गोदावरी नगरपालिका–८ स्थित मजगाउँमा स्थापना गरिएको नवजीवन सहकारी संस्था लिमिटेड अन्तर्गतको नवजीवन खाद्य उद्योगले आजदेखि चामल बिक्रि तथा वितरण कार्य सुरु गरेको छ।

खाद्य उद्योगले हालसम्म १६ हजार २८ क्विन्टल धान खरिद गरी तीमध्ये १ हजार १८४ क्विन्टल धान कुटाइसकेको छ। सो प्रक्रिया बाट ६२९ क्विन्टल चामल उत्पादन भएको हो। उत्पादन भएको चामललाई मोटो र मसिनो गरी दुई भागमा छुट्याइएको उद्योगले जनाएको छ।

शनिबार उद्योग स्थलमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले २५ किलोको मोटो चामलको मुल्य १४ सय रुपैयाँ र मसिनो चामलको २२ सय रुपैयाँ तोकिएको जानकारी दिए। उनले भने, “धानको मूल्य अनुसार चामलको मूल्यमा पनि केही तलमाथि हुन सक्छ।”

बमका अनुसार पहिलो चरणमा नवजीवन सहकारीका १० वटै सेवा केन्द्रमार्फत चामल बिक्रि तथा वितरण गरिने छ। आगामी दिनमा सहकारी मन्त्रालयसँग समन्वय गरी गाडीको व्यवस्था गर्ने र घर–घरमै चामल होम डेलिभरी सेवा पनि सञ्चालन गर्ने योजना रहेको उनले बताए।

उनले उद्योग स्थापना गर्ने मुख्य उद्देश्य नवजीवनका ३६ हजार शेयर सदस्य तथा आम सर्वसाधारणलाई शुद्ध र अर्ग्यानिक चामल उपलब्ध गराउनु रहेको बताए। अध्यक्ष बमले आगामी दिनमा चामलसँगै पिठो, तेल र पानी उत्पादन गर्ने योजना रहेको समेत जानकारी दिए। यस क्षेत्रलाई नवजीवन औद्योगिक ग्रामको रुपमा विकास गरिने भन्दै कृषिमा सदस्यहरुको संलग्नता बढाउँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेतर्फ सहकारीको दीर्घकालीन योजना रहेको पनि उनको भनाइ छ।

रानी जमरा सिँचाइ आयोजना सुरु भएपछि त्यस क्षेत्रका किसानहरुलाई बीउ वितरणको योजना समेत अघि बढाउने तयारी रहेको उनले बताए।

२०४७ सालमा स्थापना भएको नवजीवन सहकारी संस्था लिमिटेड हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित सञ्चालनमा रहेको छ। सहकारीमा हालसम्म ३६ हजार ८१ जना शेयर सदस्य रहेका छन् भने यसको कुल शेयर पूँजी ३१ करोड ३४ लाख रुपैयाँ पुगेको छ। सहकारीले हालसम्म ५ अर्ब ७३ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १६ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ।

नवजीवन खाद्य उद्योगको चामल उत्पादन तथा वितरणले स्थानीय उत्पादन प्रवर्द्धन गर्नुका साथै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने अपेक्षा गरिएको छ।

 

ताजा समाचार