चुरे गाउँपालिकामा जलवायु परिवर्तन अनुकुलन परियोजना सञ्चालन हुने, MoU हस्ताक्षर

अत्तरिया,कैलालीकाे चुरे गाउँपालिकामा जलवायु परिवर्तन स्थानीय अनुकुलन परियोजना (LACC) सञ्चालनका लागि औपचारिक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। मिति २०८१ साल चैत्र १० गते सम्पन्न हस्ताक्षर कार्यक्रममा चुरे गाउँपालिकाको तर्फबाट अध्यक्ष चक्र बहादुर बोगटी तथा प्रमुख प्रशासकीय अधिकृत चेत बहादुर बोगटीले हस्ताक्षर गरेका हुन्। परियोजनाको तर्फबाट परियोजना प्रमुख सान्ना लिना राउटेनन तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवले सम्झौतामा हस्ताक्षर गरेका छन्।

यस समझदारीमार्फत चुरे गाउँपालिकामा वातावरणीय सन्तुलन कायम गर्दै जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्ने दीर्घकालीन योजना अघि बढाइने छ। परियोजनाको मुख्य उद्देश्य जलवायु परिवर्तनको असरबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनु हो। यस परियोजनाले चुरे क्षेत्रको जैविक विविधता संरक्षण, वन व्यवस्थापन, पानीका स्रोतको संरक्षण तथा हरित पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नेछ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमका अवसरमा गाउँपालिका अध्यक्ष बोगटीले वातावरणमैत्री विकासका लागि यस्तो परियोजना अपरिहार्य रहेको बताए। “चुरे क्षेत्र विगत केही वर्षदेखि जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा छ। यस्तो अवस्थामा LACC परियोजना मार्फत हामी दीगो विकासको यात्रामा अगाडि बढ्नेछौँ,” उनले भने।

परियोजना प्रमुख राउटेननले चुरे क्षेत्रको संवेदनशीलता र यहाँका समुदायको आवश्यकता अनुसार परियोजना कार्यान्वयन गरिने बताइन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिले परियोजनाले स्थानीय तहसँग सहकार्य गरी दिगो र वातावरणमैत्री पूर्वाधार विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

LACC परियोजना नेपाल सरकार, विभिन्न विकास साझेदार तथा स्थानीय तहबीचको सहकार्यमा सञ्चालित परियोजना हो। यो परियोजना विभिन्न जलवायु जोखिम कम गर्ने उपायहरू, वातावरणीय योजना निर्माण तथा सामुदायिक सहभागिता मार्फत कार्यान्वयन हुने जनाइएको छ।

 

ताजा समाचार