अत्तरिया, कैलालीको गोदावरी नगरपालिका-१, अत्तरियामा सृजनशील युवा क्लबको आयोजनामा सम्पन्न ‘स्पोर्ट्स लिग’ खेल उत्सव अन्तर्गतको चौथो संस्करण भव्य रूपमा सम्पन्न भएको छ। यस संस्करणमा फुटबल, क्रिकेट र भलिबल खेलहरू समावेश गरिएको थियो।
फुटबल प्रतियोगिताको उपाधि सिवाईसी बुढीतोला जिरो पोइन्टले जितेको छ। फाइनल खेलमा उसले सिवाईसी भल्का धामलाई २-१ ले पराजित गर्दै विजेता बनेको हो। उत्कृष्ट प्रदर्शनसहित सिवाईसी भल्का धाम उपविजेता बन्न सफल भयो। गोदावरी नगरपालिका वडा नं. १ स्थित सिवाईसी खेलमैदानमा सम्पन्न भएको फाइनल खेललाई ठूलो दर्शककाे उपस्थितिले अझ रोमाञ्चक बनाएको थियो।
प्रतियोगितामा सहभागी टिमहरूलाई विभिन्न स्थानीय पर्यटकीय स्थलहरूका नाममा नामकरण गरिएको थियो। प्रतियोगितामा सहभागी आठ टिमहरूमा सिवाईसी गोदावरी धाम, सिवाईसी हाटखोली गाजरी, सिवाईसी दोगडे फुलबस्ती, सिवाईसी लामिताल, सिवाईसी भल्का धाम, सिवाईसी बुढीतोला जिरो पोइन्ट, सिवाईसी नायल ताल, र सिवाईसी मछेली खोला रहेका थिए।
विजेता सिवाईसी बुढीतोला जिरो पोइन्टले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा, उपविजेता सिवाईसी भल्का धाम २५ हजार रुपैयाँ प्राप्त गर्यो। प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिता गोदावरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा नगरप्रवक्ता गाेपाल दत्त भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बिशिष्ट होटल व्यवसायीका अध्यक्ष लक्ष्मण धामी,नेपाली कांग्रेसका अग्रज नेता राजु भट्टराई र अथितिमा मालिका यातायातका अध्यक्ष जय खड्का नेकपा एमालेका जिल्ला कमिटी सदस्य रविन्द्र रोका मगर, एमालेकै जिल्ला कमिटी सदस्य शर्मानन्द भट्टले लगायतका अग्रज नेता र युवा खेलाडीहरूको सहभागिता रहेको थियो। क्लबका अध्यक्ष नरबहादुर राईको अध्यक्षतामा सम्पन्न खेलहरूमा उल्लेखनीय दर्शक र खेलाडीको सहभागिता देखिएको थियो।
सृजनशील युवा क्लबले प्रतियोगिताका लागि २ लाख रुपैयाँ पुरस्कार राशि छुट्याएको जानकारी दिएको छ। २०५४ सालमा स्थापना भएको क्लबले खेलकुद तथा सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न र खेलकुद संस्कृतिको प्रवर्द्धनका लागि यस्तो लिग महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।