रोयल च्यालेन्जर्स बैंगलोरको विजयी सुरुवात, विराट कोहलीको सानदार प्रदर्शन

अत्तरिया,इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ। शनिबार इडन गार्डेन्समा सम्पन्न खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै सिजनको पहिलो खेल आफ्नो पक्षमा पारेको हो।

पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। जवाफमा बैंगलोरले मात्र १६.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

बैंगलोरको जितमा विराट कोहलीले नटआउट रहँदै सर्वाधिक ५९ रनको योगदान दिए। उनले ३६ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे। ओपनर फिल साल्टसँग मिलेर पहिलो विकेटका लागि ९५ रनको सशक्त साझेदारी गरे। साल्टले ३१ बलमा ९ चौका र २ छक्का सहित ५६ रनको योगदान दिएका थिए।

कप्तान रजत पाटीदारले पनि आक्रामक खेल प्रस्तुत गर्दै १६ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाए। देवदत्त पडीकल १० रनमा आउट भए भने लियम लिभिङ्गस्टोन ५ बलमा १५ रन बनाउँदै नटआउट रहे।

कोलकाताका लागि वैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको कोलकाताले आक्रमक सुरुवात गरे पनि लगातार विकेट गुमाउँदै निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। अबको खेलमा दुवै टोलीले आ-आफ्नो कमजोरी सुधार गर्दै थप प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

 

ताजा समाचार