डडेल्धुराको परशुराममा दुर्लभ सेतो गिद्ध देखापरे

 अत्तरिया,डडेल्धुराकाे परशुराम नगरपालिकामा विश्वमै लोपोन्मुखको सूचीमा सूचीकृत सेतो गिद्ध देखापरेका छन्। परशुराम नगरपालिका वडा नम्बर ६ सिमलखेतमा आज बिहान एकै साथ चार वटा सेतो गिद्ध देखिएपछि स्थानीयवासी उत्साहित भएका छन्।

वडा अध्यक्ष खगेन्द्र सिंह ठकुरीका अनुसार यस क्षेत्रमा विगतमा पनि गिद्ध देखिने गर्दथे। “पहिले यहाँ ठूला-ठूला सिमलका रुख थिए। त्यही भएर गिद्धको बासस्थान थियो,” उनले बताए। सिमलका रुखलाई गिद्धको प्रमुख आवास स्थलका रूपमा लिने गरिन्छ। तर पछिल्लो समय महाकाली र रंगुन नदीद्वारा सिमलखेत क्षेत्रमा भएको कटानका कारण सिमलका रुख बगाएर लगेपछि गिद्ध हराएका थिए।

हाल देखिएका चार गिद्धहरू एकै स्थानमा देखा पर्नु विशेष घटना भएको वडा अध्यक्ष सिंह बताउँछन्। “विगत केही वर्षयता गिद्ध देखिएको थिएन, आज पहिलोचोटि चारवटा एकैचोटि देखिए,” उनले भने।

विश्वभर २३ प्रजातिका गिद्ध पाइन्छन् भने दक्षिण एसियामा ९ प्रजातिका गिद्ध अवस्थित छन्। ती सबै ९ प्रजातिका गिद्ध नेपालमा समेत पाइन्छन्। गिद्धहरू अग्ला, बलिया रुख र चट्टानी पहरामा गुँड बनाएर मानिस नजिकका क्षेत्रमा बस्न रुचाउँछन्। मानिसभन्दा आठगुणा टाढासम्म देख्ने क्षमता भएका गिद्धहरू सिनोको खोजीमा तीनसय किलोमिटर टाढासम्म उड्न सक्छन्।

गिद्ध केवल पर्यावरणीय सन्तुलन कायम गर्ने नभई पारिस्थितिकीय प्रणालीका संवाहक पनि हुन्। उनीहरूको अनुपस्थितिमा मरेका जनावरका सिना कुहिएर सड्न थाल्छन्, जसले भुस्याहा कुकुर, स्याल, मुसा र भिङ्गाको संख्या बढाउँछ। फलस्वरूप मानिसमा रेविज, हैजा, झाडापखाला, आउँ जस्ता घातक रोग फैलिन सक्छन् भने पशुचौपायामा पनि एन्थ्रेक्स, ब्रुसेलोसिस र क्षयरोगजस्ता रोग महामारीको रूपमा फैलन सक्छन्।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गिद्धको उपस्थिति पारिस्थितिकीय स्वास्थ्यको सूचक हो। डडेल्धुराको सिमलखेतमा गिद्ध देखिनु यस क्षेत्रको पर्यावरणीय सन्तुलन फर्किन थालेको संकेतको रूपमा लिइएको छ।

सरकार तथा सरोकारवाला निकायले गिद्ध संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता स्थानियवासीहरूले बताएका छन्।

 

ताजा समाचार