अत्तरिया क्षेत्रमा सुविधा सम्पन्न अस्पतालहरूको विकास,तर जनविश्वासको अभाव

अत्तरिया , क‌ैलालीको अत्तरिया क्षेत्र हालका वर्षहरूमा स्वास्थ्य सेवाको दृष्टिकोणले तीव्र विकासको चरणमा पुगेको छ। गोदावरी मालाखेती अस्पताल जस्ता सुविधा सम्पन्न मेडिकल कलेज तथा पद्म अस्पताल, अत्तरिया हस्पिटल जस्ता निजी क्षेत्रका संस्थाहरूले अत्याधुनिक सेवा सुविधा सहित सञ्चालनमा आएका छन्। यस्तै, स्थानीयस्तरमा समेत स्वास्थ्य चौकीहरूको स्थापना भइसकेको छ। तर, यति ठूला लगानी र पूर्वाधारका बाबजुद पनि अत्तरियाका बासिन्दाहरूले आफ्नै क्षेत्रका अस्पतालप्रति अपेक्षित विश्वास देखाउन नसकेको अवस्था देखिन्छ।

स्थानीय अस्पतालहरूमा सेवा दिने चिकित्सकहरू नै धनगढीका ठूला अस्पतालहरूमा समेत कार्यरत छन्।पछिल्लो समय एकजना डाक्टर धनगढीका अस्पतालमा सेवा दिँदा बिरामीको भिड लाग्ने, तर उही डाक्टर अत्तरियाको अस्पतालमा उपस्थित हुँदा बिरामी आउन नमान्ने अवस्थाले जनविश्वासमा आएको गिरावटको संकेत दिन्छ। “जनशक्ति, सेवा, र उपकरण सबै उस्तै छन्, तर हाम्रो अस्पतालमा बिरामी नआउने अवस्था चिन्ताजनक हो,” अत्तरिया हस्पिटलका एक प्रशासकले बताए। यसले न केवल अस्पताल सञ्चालनमा असर पारिरहेको छ, बरु भविष्यमा लगानीकर्ताहरूलाई पनि यस क्षेत्रमा लगानी गर्न हतोत्साहित बनाइरहेको छ। जनशक्ति, उपकरण र सेवा सञ्जाल समान रहे पनि अत्तरियामा बसेर ती डाक्टरले सेवा दिँदा विश्वास नहुने, तर धनगढी पुगेपछि त्यही चिकित्सकप्रति भरोसा हुने प्रवृत्तिले अस्पताल प्रशासनलाई सोच्न बाध्य बनाएको छ। यसले जनताको स्वास्थ्य सेवामा पहुँच त प्रभाव पार्दैन नै, लगानीकर्ताहरूलाई समेत निराश बनाएको छ। पछिल्लो समय केही सम्भाव्य लगानीकर्ता अत्तरियामा अस्पताल सञ्चालनको सोचबाट पछि हटेको पाइन्छ।

स्थानीय बासिन्दाको सेवा प्रदायक संस्था प्रतिको यो अनिच्छा र अविश्वास समाजमा व्यापक बहसको विषय बन्दै गएको छ। चिया–चौतारामा “नगरले विकास गर्न सकेन, निजी क्षेत्र असफल भयो” भन्ने आवाजहरू सुनिन थालेका छन्। तर, सेवामा लागिरहेका अस्पताल र स्वास्थ्य संस्था भने जनताको साथ र विश्वासको अपेक्षा गर्दै सेवालाई अझ स्तरीय बनाउने प्रतिबद्धता जनाउँदै आएका छन्।

अस्पताल प्रशासनको भनाइ अनुसार, “हामीले पूर्ण सेवा दिने विश्वासका साथ काम गरिरहेका छौं। जनताको उपस्थिति र भरोसा नै हाम्रो प्रेरणा हो। तर, आफ्नै क्षेत्रका अस्पताललाई नजरअन्दाज गर्नु दुर्भाग्यपूर्ण हो।”

स्वास्थ्य क्षेत्रको यो सन्तुलन मिलाउन स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो छ। जनतालाई सजिलो, छरितो, गुणस्तरीय सेवा दिन खुलेका यी संस्थाहरूलाई माथि उठाउन, जनविश्वासको पुनः स्थापना गर्नु आजको आवश्यकता बनेको छ। जनताका आकांक्षा र संस्थाको सेवाभाव बीच पुलको रूपमा अब समन्वयकारी नीति निर्माण र जनचेतना अभिवृद्धि अपरिहार्य देखिन्छ।

निजी क्षेत्रले यथोचित लगानी गर्नसक्ने वातावरण निर्माण गर्नु भनेको स्थानीय सरकारको प्रमुख दायित्व हो। यस क्षेत्रमा सेवा नपाएर अन्यत्र जानुपर्ने अवस्थाले यहाँको आर्थिक विकास मात्र होइन, जनस्वास्थ्यमा समेत असर पुर्‍याउनेछ।

अब समय आएको छ—स्थानिय सरकार, अस्पताल प्रशासन र नागरिक समाजबीच समन्वय गर्दै जनविश्वास पुनःस्थापित गर्न सकियो भने, अत्तरिया क्षेत्र निकट भविष्यमा एक अग्रगामी स्वास्थ्य सेवा केन्द्रको रूपमा स्थापित हुन सक्ने सम्भावना बलियो देखिन्छ। यो चुनौती मात्र होइन, अवसर पनि हो।

 

ताजा समाचार