अत्तरिया,कैलालीको गोदावरी नगरपालिका-३ मा अवस्थित मालाखेती अस्पतालमा केही समयअघिसम्म सञ्चालनमा रहेको डेण्टल सेवा बन्द भएको छ। आपत्कालीन सेवा अन्तर्गत सुरु गरिएको यो सेवा केही वर्ष यता अवरुद्ध अवस्थामा रहँदै आएको छ। नगरपालिकाले सुविधा सम्पन्न नमुना अस्पताल बनाउने लक्ष्य लिएको भए पनि त्यसअनुसारको प्रभावकारी सञ्चालन हुन नसकेको देखिन्छ।
हाल अस्पतालको भौतिक पूर्वाधार र सेवा संरचना सुदृढ देखिए तापनि ती सेवाहरू सञ्चालन गर्ने आवश्यक जनशक्ति अभाव तथा व्यवस्थापन पक्षको कमजोर उपस्थितिका कारण स्थानीय बासिन्दाहरू नजिकैको अस्पताल छेउमै हुँदा हुँदै पनि निजी क्लिनिक,डेण्टल वा अस्पताल धाउन बाध्य छन्। विशेषतः अस्पतालको इन्डोर सेवा बन्द हुँदा सामान्य रोगीहरू समेत अन्यत्र जानुपर्ने बाध्यता देखिएको छ।
स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार अस्पतालले दिनुपर्ने आधारभूत सेवा भने नियमित रूपमा दिइरहेको बताउनु भएको छ। उहाँले केही सेवा अवरुद्ध भए पनि दैनिक १५० देखि २५० बिरामीले सेवा लिँदै आएको जानकारी दिनुभयो। तर उहाँकै भनाइमा, अहिलेसम्म अस्पतालसम्बन्धी समस्या समाधानका लागि कुनै पनि बैठक वा प्रस्ताव नगरपालिकामा अघि नबढाइएको पनि स्वीकार गर्नुभयो।
अस्पताल व्यवस्थापन समितिको गठन भए तापनि सो समितिले भूमिका महत्वपूर्ण खेलेको बताउनुभयो। के व्यवस्थापन समिति निष्कर्ष हो भन्ने प्रश्न्नमा समिति निष्क्रिय त होइन। अस्पतालका आफ्नै किसिमका प्रशासनिक समस्या चाहिँ हुन सक्लान् । तर आवश्यक सामग्री, उपकरण तथा सेवा विस्तारका विषयमा कुनै छलफल नचलेको गुनासो नगरपालिकामा अहिलेसम्म उहाँले बताउनुभएको थियो। स्वास्थ्य शाखा प्रमुखका अनुसार बिरामीहरू अस्पतालमा भर्ना हुने गरी आउने दर निकै न्यून रहेको र आउने अधिकांशलाई सामान्य उपचार गरेर घर पठाइने गरेको पाइएको उहाँले बताउनुभयो ।
स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यो अस्पताल अहिले सेवा विस्तार गर्न नसक्दा स्थानीयहरूमा निराशा देखिएको छ। नगरपालिकाले यसलाई एउटा नमुना अस्पतालका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै आएको भए पनि हालसम्म त्यसअनुरूप गम्भीर पहल भएको देखिँदैन। अस्पताल जस्तो पहिलो प्राथमिकता पाउने सेवामा यति लामो समयसम्म बेवास्ता हुनु सम्बन्धित निकायप्रति प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ।