डीडीसीलाई अत्तरियामा रोक्न पहल गर्छौ : राज्यमन्त्री बम

अत्तरिया,सुदूरपश्चिम सरकारका अर्थ राज्यमन्त्री प्रकाश बमले अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) धनगढी सार्नबाट रोक्न पहल गर्ने बताएका छन् । बिहीबार अत्तरियामा जग्गा खोज्न बनेको कार्यदल लगायत सरोकारवालाहरूको छलफलमा उनले सो कुरा बताएका हुन ।
उनले अत्तरियामा जग्गा कहाँ दिने भन्ने निर्णय गरेपछि प्रदेश सरकारबाट अत्तरियामा बनाउने निर्णय गराउनका लागि आफूले पहल गर्ने बताए । उनले यस विषयमा यस क्षेत्रका सबै माननीय र स्थानीय मिलेर मुख्यमन्त्री समक्ष प्रस्ताव राख्न उपयुक्त हुने सुझाए ।
छलफलमा सहभागी प्रदेश सभा सदस्य जानकी पौडेलले आफूले कृषि मन्त्रालयमा यस विषयमा बुझ्ने बताइन् । उनले छलफल गरेर डीडीसी रोक्ने जिम्मेवारी आफूहरूको भएको बताइन ।
संघ सरकारले चालु आर्थिक वर्षमा डीडीसी मार्फत दुग्ध प्रशोधन कारखाना सञ्चालन गर्न ६ करोड बजेट विनियोजन गरेको छ । उक्त योजना प्रदेश सरकार मार्फत कार्यान्वयन गरिँदै छ ।
डीडीसीले भने कारखाना बिस्तार गर्न हाल अत्तरियामा जग्गा अभाव भएको भन्दै धनगढीमा जग्गा पाइएकाले उतै सार्न लागेको जनाउँदै आएको छ ।
 

ताजा समाचार