धनगढी , सुदूरपश्चिममा पछिल्लो समय चेकको नाममा ठगी हुने गरेको गुनासो बढ्न थालेको छ। पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंकिङ कसुरसम्बन्धी मुद्दासमेत उच्च दरमा बढ्न थालेको छ। चेक नसाटिने, चेकको नाममा ठगीलगायत घटना बढेपछि बैंकिङ कसुरसम्बन्धी मुद्दाको संख्यासँगै बिगो रकमसमेत उच्च मात्रामा बढ्न थालेको हो।
बैंकिङ कसुरसम्बन्धी मुद्दा नेपाल प्रहरीमार्फत अदालती प्रक्रियामा जाने र सरकार आफैँ नै वादी (पक्ष) भएर मुद्दा लड्ने गर्छ। यस्तो मुद्दा पछिल्लो समय बढ्दो क्रममा रहेको प्रहरीबाट प्राप्त पछिल्लो तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिममा बैंकिङ कसुरमा एक सय ७६ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन्।
तमसुकको नाममा चेकको दुरुपयोग
पहिला व्यक्तिगत सापटी, ऋण तथा उद्यारो कारोबारमा तमसुक बनाउने प्रचलन थियो। त्यस अवस्थामा रकम असुल नभएमा कानुनी प्रक्रिया अघि बढाउन झन्झट हुने गरेको थियो। वडा कार्यालयलगायतका निकायको सिफारिस चाहिन्थ्यो। तर, चेकमार्फत कानुनी प्रक्रिया अघि बढाउन सजिलो छ।
यसमा सीधै मुद्दा दर्ता गर्न सकिन्छ। सोहीअनुसार अहिले तमसुकको ठाउँमा चेक प्रयोग हुन थालेको छ। त्यसले गर्दा पनि यस्तो मुद्दाको संख्या बढ्दै गएको छ। पछिल्लो समय देखिएको आर्थिक संकटले यस्तो मुद्दाको संख्या बढाउन थप सहयोग पुगेको छ।
चेक अनादरका मुद्दा ह्वात्तै
गत वर्ष प्रदेशभित्र यस्तो मुद्दाको संख्या सबैभन्दा बढी देखिएको छ। विशेष गरी आर्थिक संकटका कारण पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्न थालेको प्रदेश प्रहरीले जनाएको छ। महँगी, तरलता अभाव, उच्च ब्यादजरलगायतका कारण अहिले आमउपझोक्ताको क्रयशक्ति कमजोर बनेको छ। सोहीकारण अधिकांश व्यापार–व्यवसायमा मन्दी आएको छ।
साथै, आमसर्वसाधारणमै नगद प्रवाह कम छ। फलस्वरूप कतिपय व्यवसायी, व्यापारी, कम्पनी तथा व्यक्तिले आफ्नो उद्यारो, ऋण तथा सापटी चुक्ता गर्न सकेका छैनन्। उनीहरू निश्चित मितिको भाका राखेर चेक दिएका त हुन्छन्। तर, त्यो चेक समयमा साटिएको हुँदैन। त्यसपछि चेक पाएको व्यक्तिले चेकवालालाई बैंकिङ कसुरको मुद्दा हाल्न पाउने कानुनी व्यवस्था छ। तथ्यांकअनुसार बैंकिङ कसुरमा चेक बाउन्सको मुद्दाको हिस्सा ९९ प्रतिशत रहेको छ।
किन बढ्दैछ मुद्दा?
चेक कारोबारको प्रचलन बढ्दा पनि यस्तो मुद्दाको संख्या बढेको हुन सक्ने प्रहरी अधिकृतहरु बताउँछन्। यस्तै, पैसा नदिएपछि कानुनी प्रक्रिया अघि बढाउनुपर्छ भन्ने चेतना पनि आममानिसमा विकासमा भएको छ। त्यसको असरले पनि यस्तो मुद्दाको संख्या बढेको अधिकारीहरु बताउँछन्। त्यो दृष्टिकोणले यस्तो मुद्दाको संख्या बढ्नु सकारात्मक रहेको पनि सरोकारवालाहरू बताउँछन्। विशेष गरी यो बैंकसँग जोडिएको मुद्दा हो। पछिल्लो समय बैंकिङ पहुँच तथा दायरा बढेको छ।
कैलालीमा सबैभन्दा बढी
ऋण लिँदा ऋणीले खाली चेक दिने र पछि ऋणदाताले आफ्नो इच्छाअनुसार पैसा राखेर चेक बाउन्स गर्ने गरेको पनि कतिपयको आशंका छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा बैंकिङ कसुरमा एक, आर्थिक वर्ष २०७८/७९ मा दुई तथा आर्थिक वर्ष २०७९/८० मा यस्तो संख्या ह्वात्तै बढेर एक सय ७६ पुगेको हो।
कैलालीमा मात्र आर्थिक वर्ष २०७९/८० मा चार सय ८ थान चेक अनादर सम्बन्धीका मुद्दा अदालतमा दर्ता भइसकेका छन्। त्यसमध्ये एक सय ९७ वटा मुद्दाको मात्र फैसला भइसकेको छ। कैलालीमा सबैभन्दा बढी चेक अनादरका घटना प्रहरी एवं अदालतसम्म पुग्ने गरेको समेत पाइएको छ।