अत्तरिया, रिभर साईड यातायात प्रालिले काठमाण्डौका लागि सोफा बस सञ्चालनमा ल्याएको छ । कैलालीको लम्कीमा प्रधान कार्यालय रहेको उक्त यातायात प्रालिले आईतबारबाट धनगढी र अत्तरियादेखी काठमाण्डौका लागि सोफा बस सञ्चालनमा ल्याएको हो ।
यात्रुहरुलाई आरामदायी यात्रा दिनका लागि ३ वटा अत्याधुनिक सुविधा सम्पन्न रोयल भिआईपी दरबार सोफा बसहरु सञ्चालनमा ल्याईएको यातायात प्रालिका अत्तरिया प्रमुख विक्रम विष्टले जानकारी दिए । उनले यात्रुहरुको मागलाई ध्यानमा राखेर नै रिभर साईड यातायात प्रालिले सोफा बसहरु सञ्चालनमा ल्याएको बताए ।
‘यात्रुहरुले कम्फरटेबल यात्रा खोजि रहेका हुन्छन’ उनले भने ‘यात्रुहरुको माग बमोजिम लामो दुरीको यात्रामा उनिहरुलाई आरामदायी यात्रा दिने उद्देश्यले सोफा बसको अवधारणा ल्याएका हौ ।’ उनले सोफा बसको यात्राले यात्रुहरुलाई आरामदायी, भरपर्दाे र सुरक्षित यात्राको आभास गराउने विश्वास रहेको समेत बताए ।
रिभर साइड यातायात प्रालिले यात्रुहरुलाई अत्याधुनिक किसिमको आरामदायी सेवा प्रदान गर्ने प्रयास गरिरहेको उनको भनाई थियो । उनका अनुसार अब यात्रुहरुले बिना कुनै झण्झट र थकावट सुतेरै भएपनि सोफा बसमा यात्रा गर्न सक्नेछन् ।
आईतबार अत्तरिया बसपार्कमा प्रालिका अध्यक्ष गणेशराज ओली, कार्यालय प्रमुख चन्द्रप्रकाश आचार्य र वरिष्ठ उपाध्यक्ष जनकबहादुर शाहीले संयुक्त रूपमा बसहरुको उद्घाटन गरेका हुन्।