अत्तरिया, कैलालीको गोदावरी नगरपालिका-५ गेटामा जडान गरिएका स्मार्ट सडकबत्ती सञ्चालनमा ल्याईएको छ । शुक्रबार नगरप्रमुख विरेन्द्र भट्टले गेटा आखाँ अस्पताल क्षेत्रको भित्री सडकमा जडान गरिएका सडक बत्तीको मेन स्वीच बक्स अन गरी सञ्चालनमा ल्याएका हुन् ।
सडकबत्ती सञ्चालनमा आएपछि स्थानियहरुले गाउँमा विकास भएको अनुभुती गर्दै रातीको समयमा आवतजावत गर्न सहज हुने भन्दै खुसी व्यक्त गरेका छन् । स्थानियहरुको पिडालाई महसुस गरेर काम गरिदिएको भन्दै वडा र नगरपालिकाप्रति स्थानियले धन्यवाद ज्ञापन गरे । सडकको दुवै तर्फ मिलाएर लगाईएका उक्त लाईटहरुले त्यस क्षेत्रमा रातीको समयमा हुने घटनाहरु न्यूनिकरणमा मद्दत पुग्ने स्थानियहरुले अपेक्षा लिएका छन् ।
सडकबत्ती सञ्चालनका क्रममा बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले यस क्षेत्रमा रातिको समयमा हुने आवतजावतमा सहजता ल्याउनुका साथै र अँध्यारोमा घट्नसक्ने अप्रिय घटना न्यूनीकरण गर्नका लागि स्मार्ट सडक बत्ती सञ्चालनमा ल्याईएको बताए । उनले रात्रिकालीन उद्योग तथा व्यापार व्यवसायहरूलाई प्रवर्द्धन गर्न तथा यस क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नका निमित्त पनि स्मार्ट सडक बत्ती अपरिहार्य रहेको बताएका छन । अत्तरिया-धनगढी सडक खण्डको गेटा आँखा अस्पताल सँगै जोडिएको सडक खण्ड अन्तरगत बाक्लो बस्ती र जनघनत्वलाई मध्यनजर गर्दै आगामी दिनमा आवश्यकता र जनताको माग अनुसार पालिकाले सक्ने जति ठाउँमा सडक बत्ती जडान गर्ने उनले बताएका छन । नगरपालिकाले मानविय आवश्यकतालाई मध्यनजर गर्दै क्रमिक रुपमा बिभिन्न वडामा विद्युतिय लाईटहरु जडान गर्ने काम गरिरहेको नगर प्रमुख भट्टले बताए ।
यस्तै वडाध्यक्ष सुद्धिराम चौधरीले एडिबिको परियोजनाबाट जनताको माग बमोजिम स्मार्ट सडकबत्ती बाल्न पाईएको बताए । उनले दिपावली भन्दा अगावै स्मार्ट सडकबत्ती बाल्ने लक्ष्य पुरा भएको बताएउदै एडिबीले स्मार्ट सडकबत्ती बालिसकेपछि नगर र वडाले बत्तिहरुको सुरक्षाको जिम्मेवारी लिने बताएका छन् । वडाका अन्य अति आवश्यक स्थानहरुमा सोलार बत्तिहरु बालिएको र सुचारु गरिएका बत्तिहरु टाईम अनुसार आफै बन्द हुने र बल्ने किसिमका छन् । वडाध्यक्ष चौधरीले तत्काल प्राविधिकको अभावका कारण केही समय सम्मका लागि जनप्रतिनिधि वा कुनै स्थानियलाई बिजुली बाल्ने र निभाउने जिम्मेवारी दिईने बताएका छन् ।
एशियाली विकास बैंकको सहयोग तथा शहरी विकास कार्यालय धनगढीको सहकार्यमा उक्त सडकबत्तीहरु सञ्चालनमा ल्याईएका हुन । उक्त क्षेत्रमा ४६ वटा स्मार्ट सडकबत्ती सञ्चालनमा आएका छन ।