काठमाडौं , प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामको सुरुआत गरेको बताएका छन् ।
आज पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानको भर्चुअल रुपमा उद्घाटन गर्दै प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा काम गरेको बताएका हुन् ।
प्रचण्डले भने, ‘सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामहरु अगाडि बढाएको छ ।’ सरकारले विकास र समृद्धिलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले अहिले जनतामा निराशा चरेर आशा र भरोभाको वातावरण बढेको दाबी गरे । जनतामा सरकार र प्रणालीप्रतिको विश्वास बढ्दै गएको उनको भनाइ छ ।
उनले नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी प्रकरणको कारबाहीले राज्य शक्तिको दुरुपयोगबाट भएका अपराध कर्मको पर्दाफास गरिएको बताए ।
साथै प्रचण्डले पार्टीको रुपान्तरण अभियानले पार्टीलाई सक्षम बनाउने विश्वास व्यक्त गरे । सिंगो पार्टी एकढिक्का भएर अघि बढे सबै चुनौतीको सामना गर्न सकिने बताउँदै उनले देशैकै बलियो पार्टीका रुपमा रुपान्तरण गर्न सकिने दाबी गरे ।
पार्टीको जीवनका लागि र देशको उज्वल भविष्यका लागि यो अभियान सुरु गरेको भन्दै उनले यसले जनसम्बन्ध बलियो बनाउने बताए ।