कञ्चनपुर, कञ्चनपुर जिल्ला अदालतबाट लेखापढी व्यवसायीको परीक्षा पास गर्न सफल भएका युवा नेता प्रकाश नाथ योगी अब व्यावसायिक लेखापढी सेवामा सक्रिय हुँदै जानुभएको छ। निरन्तर अध्ययन, मेहनत र लगनशीलताको परिणामस्वरूप योगीले यो सफलता प्राप्त गर्नुभएको हो।
कृष्णपुर नगरपालिका २ बाणीका स्थानीय युवा नेताका रूपमा परिचित योगीले अब कानुनी लेखापढी सेवामा आफ्नो भविष्य देखेका छन्। उहाँले परीक्षामा सफलता प्राप्त गरेपछि लेखापढी व्यवसायलाई व्यवस्थित रूपमा अगाडि बढाउने योजनासमेत बनाउनुभएको छ। न्यायिक प्रक्रियासँग सम्बन्धित कागजातहरू तयार पार्ने, कानुनी सल्लाह दिने तथा अन्य प्रशासनिक काममा सहयोग गर्ने उद्देश्यका साथ उहाँले आफ्नो व्यवसायिक यात्रा प्रारम्भ गर्नुभएको हो।
उहाँका अनुसार, “समाजमा पारदर्शीता र न्यायिक प्रणालीलाई सहयोग पुर्याउने उद्देश्यले मैले लेखापढी व्यवसायलाई रोजेको हुँ। यस क्षेत्रमा इमानदारी, निष्ठा र अनुशासन अत्यावश्यक हुन्छ, जुन म पूर्ण रूपमा पालना गर्नेछु।”
योगीको यो उपलब्धिले विशेषगरी कञ्चनपुरका युवाहरुलाई पनि लेखापढी व्यवसायतर्फ आकर्षित गराउने विश्वास गरिएको छ। स्थानिय तहदेखि केन्द्रसम्म कानुनी प्रक्रियासँग जोडिएको लेखापढी व्यवसायलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै अगाडि बढाउने उहाँको योजना रहेको छ।
स्थानीय समुदाय र सहकर्मीहरूले उहाँलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ राम्रो सेवा दिने विश्वास व्यक्त गरेका छन्। युवा पुस्ताका लागि प्रेरणादायी व्यक्तित्वको रूपमा उदाएका योगी अब कानुनी लेखापढी व्यवसायलाई थप मर्यादित बनाउन प्रयत्नशील रहने बताइन्छ।