बडेहा बिजौरा खानेपानी समितिका अध्यक्ष पन्तको पद बदर सम्बन्धी मुद्दा दायर (पत्र सहित)

अत्तरिया,बडेहा बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्ष पदमा निर्वाचित चेतराज पन्तको उम्मेदवारी बदरको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरमा मुद्दा दायर गरिएको छ।

पन्त हाल गोदावरी नगरपालिका वडा नं. १ का जनप्रतिनिधि समेत रहेका छन्। सामाजिक सेवामा निरन्तर लाग्ने उद्देश्यका साथ उनले बडेहा बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्ष पदमा उम्मेदवारी दिएर विजय हासिल गरेका थिए। यद्यपि, कानुनी रूपमा कुनै पनि जनप्रतिनिधिले संस्थाहरूमा पद बहन गर्न नपाउने नियम रहेको छ। तर, अहिलेसम्म त्यस नियमको प्रभावकारी कार्यान्वयन भएको देखिँदैन।

उक्त विषयमा प्रतिक्रिया दिँदै पन्तले आफू जनताको सेवाका लागि समितिमा उम्मेदवार बनेको बताए। उनले भने, “मैले दोहोरो सुविधा लिएको छैन। जनताको माग बुझेर खानेपानी व्यवस्थापनमा संलग्न भएको हुँ। नगरपालिकाका अन्य जनप्रतिनिधिहरू पनि विभिन्न संघसंस्थाहरूमा आबद्ध रहेको समेत उहाँले बताउनुभयो। “

अख्तियारमा २०८१ साल फागुन १२ गते उनको उम्मेदवारी बदर गर्न माग गर्दै दर्ता नं. ४६६ मा मुद्दा दायर भएको छ। यस विषयमा सामाजिक तथा कानुनी रूपमा विभिन्न खालका बहस भइरहेका छन्। स्थानीयस्तरमा पनि यो विषय चर्चाको केन्द्र बनेको छ। पन्तले अनुसन्धान प्रक्रियालाई लिएर आफू हिच्किचाउने कुनै कारण नरहेको उल्लेख गर्दै निष्पक्ष छानबिनको पक्षमा रहेको बताए।

स्थानीय समुदायका अनुसार पन्तको संलग्नता सामाजिक सेवामा केन्द्रित रहेकाले यो मुद्दाले जनताको आवश्यकतामा असर पर्न सक्ने तर्क गर्दै विभिन्न कोणबाट बहस भइरहेको छ। अब आयोगले यसबारे के निर्णय लिन्छ भन्ने विषय चासोको विषय बनेको छ।

 

ताजा समाचार