सुदूरमा चाडपर्व लक्षित सुरक्षा योजनाः ७ स्थानमा राखियो ‘हेल्थ डेस्क’

धनगढी , चाडपर्व सुरक्षा तथा यात्रु आवागमन व्यवस्थापन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छन्। प्रहरी र सशस्त्रका सहायता कक्ष छठसम्म कायम रहने गरी सहायता कक्ष स्थापना गरिएको छ।

प्रहरीले मुख्य सहर र बढी भीडभाड हुने स्थानमा सहायता कक्षलाई केन्द्रित गरेको छ। सशस्त्रले सीमा क्षेत्रबाट हुने आवागमन व्यवस्थापनमा जोड दिएको छ। सशस्त्र प्रहरी सीमा सुरक्षार्थ अग्रभागमा खटिने सुरक्षा संयन्त्र हो। चाडपर्वका बेला विगतमा भारतबाट घर फर्कने नागरिक सिमानामा लुटिने, कुटिने तथा भारतीय सुरक्षाकर्मीबाट दुर्व्यवहारमा पर्ने गरेका थिए। यो पटक त्यस्ता घटना दोहोरिन नदिने गरी सुरक्षा र आवागमन व्यवस्थापन मिलाइने दुवै प्रहरी संगठनले जनाएका छन्।

चाडपर्वमा यात्रुको आवागमन बढी हुँदा सार्वजनिक सवारीको भाडामा ठगिने, भीडभाडको मौका छोपेर लुटपाट, चोरी÷डकैती हुने, लामो दूरीका सवारीसाधनमा अनिवार्य २ जना चालक राख्ने मापदण्ड पालना नहुने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने जस्ता गतिविधि नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षाकर्मी तैनाथ गराइएको दाबी छ।

साथै टिकट काउन्टर आसपास भाडामा हुने ठगी नियन्त्रण गर्न सादा पोसाकका सुरक्षाकर्मीलाई तैनाथ गर्ने काम भइरहेको बताइएको छ। सशस्त्र प्रहरीले सुदूरपश्चिमका सीमा क्षेत्रमा ७ ठाउँमा हेल्थ डेस्क राखेको छ। चाडपर्वका बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरूको सुरक्षा, सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरू हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकलाई गन्तव्यसम्म पु¥याउन सहजीकरण गर्नेलगायत काम डेस्कबाट हुने सशस्त्र प्रहरीले जनाएको छ।

भारतसँग जोडिएका मुख्यगरी कैलालीको गौरीफन्टा र मोहना, दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी हुँदै सवारी आवागमन हुने ठूला नाका हुन्। रोजगारीबाट तथा भारतीय बजारमा किनमेल गरेर फर्किएका नेपाली देश टेक्न नपाउँदै सीमा पारी नै लुटपाटमा पर्ने गरेका छन्।

त्यस्ता घटना नियन्त्रण गर्न दुबै संगठनले सुरक्षा रणनीति नै बनाएर काम गर्ने दाबी गरेका छन्। कैलालीको १०१ किलोमिटर लामो सीमा भारतसँग जोडिएको छ। नागरिकलाई निर्धक्क सुरक्षाको अनुभुति हुने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले हेल्थ डेस्कदेखि सहायता कक्षसम्म स्थापना गरेका छन्।

 

ताजा समाचार