गोदावरी धामको राम जानकी मन्दिर निर्माण बजेट अभावले अधुरै, नगर प्रमुखको अनुगमन

अत्तरिया,कैलालीको गोदावरी धाममा धार्मिक र सांस्कृतिक महत्व बोकेको राम जानकी मन्दिर निर्माण बजेट अभावका कारण अधुरो अवस्थामा रहेको छ। २०७४ सालको राम नवमीका दिन शिलान्यास गरेर सुरु गरिएको यो मन्दिरको निर्माणकार्य सात वर्ष बितिसक्दा पनि पहिलो तलाको छानोमात्र राखिएको छ।

मन्दिर निर्माणका लागि ५ करोड ९३ लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको थियो। २०७४/७५ को आर्थिक वर्षमा गोदावरी नगरपालिकाले २० लाख र प्रदेश सरकारअन्तर्गतको पर्यटन विकास कार्यक्रमले ५० लाख ४१ हजार रुपैयाँ विनियोजन गरेपछि काम सुरु भएको थियो। स्थानीय तहको सहयोग र केही दानदाताबाट फाउन्डेसन तथा लेन्टरको काम सम्पन्न गरिएको भए पनि बजेट अभावका कारण थप काम अघि बढ्न नसकेको हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्र शाहीले बताए।

गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले मन्दिर निर्माणको प्रगतिबारे अनुगमन गरे। अनुगमनका क्रममा उनले मन्दिर निर्माणमा आएको आर्थिक संकट समाधानका लागि नगरपालिकाले प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे। प्रमुख भट्टले भने, “यो मन्दिर हाम्रो नगरको धार्मिक र सांस्कृतिक धरोहर हो। यसको निर्माण पूरा गर्न हामीले सम्भाव्य स्रोत साधन परिचालन गर्नेछौं।” छिट्टै नै सुरुवातको चरणमा पुर्‍याउने बताउनुभयो।

स्थानीय बासिन्दा तथा समाजसेवी डा.नर बहादुर मौनीले मन्दिर निर्माणको धीमा प्रगतिप्रति दुःख व्यक्त गर्दै राज्यका सबै तहले धार्मिक र सांस्कृतिक धरोहरको संरक्षणमा प्राथमिकता दिनुपर्ने माग गरे। उनले भने, “यो मन्दिर केवल धार्मिक स्थल नभएर हाम्रो पहिचानको प्रतीक पनि हो। यसलाई पूर्णता दिन सबैले सहयोग गर्नुपर्छ।”

राम जानकी मन्दिरलाई पूर्णता दिएर पर्यटकीय स्थलका रूपमा विकास गर्न सके गोदावरी क्षेत्रको धार्मिक पर्यटनमा टेवा पुग्ने स्थानीयको विश्वास छ। तर, बजेटको अभावले निर्माण कार्य लामो समयसम्म अलपत्र पर्ने हो कि भन्ने चिन्ता पनि बढ्दै गएको छ।

 

 

ताजा समाचार