मालाखेती अस्पताललाई २२ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिका–३ मा अवस्थित मालाखेती अस्पतालले नयाँ स्वास्थ्य उपकरण प्राप्त गरेको छ। “हाम्रो गोदावरी, हाम्रो अभियान” नामक स्थानीय युवाहरूको समूहद्वारा अस्पताललाई उपकरण हस्तान्तरण गरिएको हो। शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै समूहले हालसम्म करिब २२ लाख रुपैयाँभन्दा बढी खर्च भएको विवरण सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा अभियानका सक्रिय सदस्य प्रमोद अधिकारीले उपकरणहरूको विस्तृत विवरण प्रस्तुत गर्दै, समूहले अस्पतालमा अक्सिजन ग्यास च्याम्बर योजना अन्तर्गत अक्सिजन पाइपलाइन विस्तार गरेको जानकारी दिए। साथै, उनले अस्पतालको सर्जिकल क्षमता विस्तार गर्न तथा आकस्मिक सेवा सुधार गर्नका लागि आवश्यक ओटी टेबल, लकर, स्ट्यान्ड, सक्सन मेसिन, प्लेन बेड, गद्दा, ड्रेसिङ ड्रम, ओटी लाइट, एक्स-रे भ्यू बक्स, क्युटरी मेसिन, मल्टिप्यारा मनिटर, ईसिजी मेसिन, क्र्यास कार्ट ट्रली, अक्सिजन रेगुलेटर, तामाको पाइप तथा अक्सिजन आउटलेट जस्ता अत्यावश्यक उपकरणहरू हस्तान्तरण गरिएको जानकारी दिए।

अधिकारीका अनुसार, उक्त अभियान कोभिड–१९ को दोस्रो लहरको समयमा शुरू गरिएको थियो। अक्सिजनको अभावका कारण गम्भीर विरामीहरूले ज्यान गुमाउनुपर्ने स्थितिलाई न्युनिकरण गर्न १३ जना स्थानीय युवाहरूको सक्रिय टोलीले यस अभियानको नेतृत्व लिएको थियो।

“त्यस बेला संसाधनको चरम अभाव थियो। हामीलाई न पैसा थियो, न त संरचना। तर जनताको ज्यान बचाउन केही गर्नैपर्छ भन्ने सोचले हामी अघि बढ्यौं,” प्रमोद अधिकारीले भने, “ढिलो भए पनि खर्च सार्वजनिक गर्नु हाम्रो उत्तरदायित्व हो भन्ने महसुस गरेर आज पारदर्शिता कायम गर्न पत्रकार सम्मेलन गरेका हौं।”

मालाखेती अस्पतालमा हाल १६ शय्याको कोभिड वार्ड सञ्चालनमा छ। तर अक्सिजन आपूर्तिको निरन्तर समस्या भइरहेकाले समूहले अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था गर्दै अस्पतालमा सर्जरी कक्ष स्थापनासमेतमा टेवा पु¥याएको छ।

अधिकारीका अनुसार अस्पतालले अझै धेरै सेवा विस्तार गर्नुपर्ने भए पनि स्थानीय तह, समुदाय, र युवाहरूको मिलेमतोमा उल्लेखनीय सुधार सम्भव हुने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा थप उपकरण तथा सेवा सुधारका लागि अभियानलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए।

स्थानीय बासिन्दा तथा अस्पताल व्यवस्थापन समितिका सदस्यहरूले “हाम्रो गोदावरी, हाम्रो अभियान” समूहको योगदानको प्रशंसा गर्दै यसले स्थानीय स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा व्यक्त गरेका छन्।

 

ताजा समाचार