“न अपराध थियो, न प्रमाण, तर मलाई १५ मिनेटमै अपराधी बनाइयो” : व्यवसायी खड्का

अत्तरिया – कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का केही दिन प्रहरी हिरासतमा बसेर रिहा भएका थिए। प्रहरीले दुव्र्यवहारको आरोपमा पक्राउ गरिएको प्रतिक्रिया दिएको भए पनि ठोस कारण भने अहिलेसम्म खुलाइएको छैन। उनलाई हाजिरी जमानीमा छोडिएको छ।

हिरासतबाट निस्किएपछि खड्काले सामाजिक सञ्जाल फेसबुकमा लामो पोष्ट गर्दै आफू निर्दोष भएर पनि जबरजस्ती अपराधी बनाइएको गुनासो गरेका छन्। उनले लेखेका छन्, “इमानदार थिएँ, छु पनि – तर मलाई अपराधी बनाइयो। मैले बीस नपिएको, तर पिलाउन खोजियो। कुलदेवताकै कृपाले त्यो बीस शरीरभित्र पस्न सकेन।”

उनले आफ्नै पसिना र मेहनतले किनिएको गहनालाई आधार बनाई आफूलाई सुन तस्करको आरोपमा मुछिएको आरोप लगाए। “मेरो रहरलाई अपराध, लवाइलाई प्रमाण बनाइयो,” भन्दै उनले प्रहरी कार्यशैलीप्रति आक्रोश पोखेका छन्।

प्रहरीले कुनै सूचना वा कारण बिना घरमा छापा मारेको र १५ मिनेटमै हिरासतमा लगेको बताउँदै, उनले त्यो अनुभवलाई “एक निर्दोष आत्माको चिहान”को रूपमा चित्रण गरेका छन्। साथै, मिडिया रिपोर्टिङप्रति पनि आक्रोश व्यक्त गर्दै भनेका छन्, “साँचो दोषीहरू ओझेलमा परे, म खलनायक बनाएँ।”

खड्काले आफू अत्तरिया उद्योग वाणिज्य संघमा सत्य बोल्ने कारणले कसैको अपच भएको आशंका व्यक्त गर्दै निष्कर्षमा लेखेका छन्, “म अपराधी होइन, म इमानदार नागरिक हुँ। तर मेरो इमानदारीलाई चौराहामा झुन्ड्याउने प्रयास गरियो।”ज्ञानेन्द्र खड्काको घटनाले प्रहरी प्रक्रिया र मिडिया व्यवहारप्रति गम्भीर प्रश्न उठाएको छ। स्वतन्त्र छानबिन बिना निष्कर्षमा पुग्दा निर्दोष व्यक्तिहरू अन्यायमा पर्न सक्छन् भन्ने सन्देश यो घटनाले दिएको छ।

 

ताजा समाचार