अत्तरिया, कैलालीको गोदावरी नगरपालिकामा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको उद्घाटन सम्पन्न भएको छ। बिहीबार एक कार्यक्रमका बीच नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले औपचारिक रूपमा केन्द्रको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले परियोजना सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै यसको दीर्घकालीन सञ्चालन र प्रभावकारी व्यवस्थापनको जिम्मेवारी अब गोदावरी नगरपालिकाको काँधमा रहेको बताए। “ठूलो लगानीमा बनेको यो संरचना उपयोगी बनाउने दायित्व स्थानीय तहको हो,” उनले भने।
शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसियाली विकास बैंकका प्रतिनिधि, गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट, विभिन्न जनप्रतिनिधि तथा मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
एसियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत करिब ५१ करोड ६९ लाख ७४ हजार रुपैयाँ लागतमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो। चौकीडाँडा सामुदायिक वन क्षेत्रभित्र स्थापना गरिएको उक्त केन्द्र चीनको सिचुवान प्रोभेन्स जियोलोजिक इन्जिनियरिङ कम्पनीले निर्माण गरेको हो।
२०७७ असोजमा सम्झौता भएको केन्द्रको निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न गरिएको हो। केन्द्रमा साढे दुई किलोमिटर लामो पहुँच मार्ग पनि निर्माण गरिएको छ।
सम्झौताअनुसार, निर्माण सम्पन्न भएपछि कम्पनीले आगामी तीन वर्षसम्म केन्द्रको सञ्चालन गर्नेछ भने त्यसपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिनेछ।
पूर्व नगरप्रमुख हरिसिंह साउदको कार्यकालमा परियोजना सम्झौता भएको हो भने हालका नगरप्रमुख वीरेन्द्र भट्टको कार्यकालमा यसको निर्माण कार्य सम्पन्न भएको हो। सोही कार्यकालमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले उक्त परियोजनाको उद्घाटन गरेका हुन्।
उक्त परियोजनाबाट गोदावरी नगरपालिकासहित वरपरका क्षेत्रका फोहोर व्यवस्थापनमा दीर्घकालीन सुधार आउने अपेक्षा गरिएको छ।