अत्तरिया,कैलालीको अत्तरियामा आज राष्ट्रप्रेमी जनसमुदाय गोदावरीको आयोजनामा बेथिति, भ्रष्टाचार र अराजक गतिविधिका विरुद्ध जुलुस निकालिएको छ। राजनीतिक पूर्वाग्रही ढङ्गले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको भन्दै विरोधस्वरूप प्रदर्शन गरिएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोदावरीका अध्यक्ष दुर्गा पोखरेलका अनुसार सनातन वैदिक हिन्दु राष्ट्र स्थापनार्थ तथा राष्ट्रहितविरुद्ध भइरहेका कार्यको विरोधमा जुलुस आयोजना गरिएको हो।
जुलुसका क्रममा प्रदर्शनकारीहरूले पुत्ला जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाका अनुसार पुत्ला जलाउने प्रयासमा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्ति राप्रपाका नेता बिराज विष्ट रहेको प्रहरीले जनाएको छ।
प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि पुत्ला दहनको प्रयासले केही समय तनाव सिर्जना भएको थियो। अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।