अत्तरिया,अत्तरियादेखि धनगढीसम्म नेकपा एमालेले आयोजना गरेको मोटरसाइकल र्याली शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। केही दिनअघि काठमाडौंको तिनकुनेमा राजावादी समूहद्वारा गरिएका विनाशकारी घटनाको विरोधमा आयोजित उक्त र्यालीमा सहभागीहरूले दोषीलाई कारबाहीको माग गर्दै, हत्या गरिएका व्यक्तिको निष्पक्ष छानबिन गर्नुपर्ने तथा गणतन्त्रको रक्षा गर्नुपर्ने नारासहित प्रदर्शन गरेका थिए।
र्यालीमा नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट स्वयं सहभागी भएका थिए। उनले गणतन्त्रको रक्षा गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै भने, “गणतन्त्रमाथि आक्रमण गर्ने जो-कोहीलाई नागरिकको तर्फबाट प्रतिरोध गरिनेछ। गणतन्त्रको विकल्प गणतन्त्र नै हो, राजतन्त्रको पुनःस्थापना सम्भव छैन।” उनले पछिल्लो समय विभिन्न माध्यमबाट गणतन्त्रविरोधी गतिविधिहरू भईरहेको उल्लेख गर्दै ती सबैलाई परास्त गर्न नेकपा एमाले सधैं तयार रहेको स्पष्ट पारे।
इन्चार्ज भट्टले राजतन्त्र पक्षधरहरूको षड्यन्त्रले गणतन्त्र ढल्ने सम्भावना नरहेको बताउँदै संविधानअनुसार दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए। साथै, नेकपा एमाले सदनदेखि सडकसम्म गणतन्त्रको रक्षाका लागि अग्रसर रहेको बताउँदै आउँदो २९ गते धनगढीमा विशाल सभा आयोजना गरिने जानकारी गराए। उक्त सभा गणतन्त्रविरोधी गतिविधिहरूको प्रतिकार गर्ने पहिलो चरणको कदम हुने उनको भनाइ थियो।
र्यालीमा नेकपा एमालेका जिल्ला अध्यक्ष, जिल्ला कमिटी सदस्यहरू प्रदेश कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरू तथा युवा संगठनका नेता कार्यकर्ताहरू र विद्यार्थी नेताहरू अन्य नेताकार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्नुपर्ने सन्देश दिँदै र्याली सम्पन्न गरेका थिए।