एसईई परीक्षा आजदेखि सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

अत्तरिया, माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा देशभरका लाखौं विद्यार्थी सहभागी भएका छन्।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। त्यस्तै, संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना तथा मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा पनि आजै सञ्चालन भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का अनुसार यस वर्ष एसईई परीक्षामा कुल ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका छन्। गत वर्षको तुलनामा यो सङ्ख्या ४९ हजार २८६ ले वृद्धि भएको हो।

परीक्षाका लागि देशभर २,०७९ परीक्षा केन्द्र तोकिएको छ। १५० जनासम्म परीक्षार्थी भएका केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र हरेक २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाइएको छ। तर, ७५ जनाभन्दा कम परीक्षार्थी भएका केन्द्रमा भने सहायक केन्द्राध्यक्ष नराखिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यस वर्षको एसईई परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा प्रत्येक दिन बिहान ८ बजे सुरु भएर ११ बजे सम्पन्न हुनेछ। विशेषगरी, यसपटक पनि जापानबाट एसईई परीक्षा सञ्चालन गरिएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार जापानबाट ३७ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निष्पक्ष र मर्यादित बनाउन कडाइ गरेको जनाएको छ। परीक्षामा कुनै अवाञ्छित गतिविधि हुन नदिन अनुगमन टोली परिचालन गरिएको छ। यसपटक परीक्षामा विद्यार्थीको सहभागिता वृद्धि हुनु शिक्षाको पहुँच विस्तार भएको संकेतका रूपमा हेरिएको छ।

 

ताजा समाचार