अत्तरिया, कैलालीको गोदावरी नगरपालिका-१ र ६ मा रहेको बडेहा बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले सल्लाहकार समिति गठन गरेको छ। समितिको चैत ५ गते बसेको बैठकले राजेश पाठकको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको हो।
नवगठित सल्लाहकार समितिका सदस्यहरुमा दिनेश कुमार शाह, देव बहादुर चन्द, कृष्ण बहादुर बलायर (केबी) र शेर बहादुर सार्की रहेका छन्। समितिको कामलाई थप प्रभावकारी र मार्गदर्शक बनाउन यो समिति गठन गरिएको समितिका अध्यक्ष चेतराज पन्तले जानकारी दिए।
साथै, बैठकले कानुनी सल्लाहकारको जिम्मेवारी दीपक राज जोशीलाई दिएको छ। अध्यक्ष पन्तका अनुसार, समितिका कार्यहरूलाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउने उद्देश्यले समितिको विधानअनुसार आवश्यक पदहरूमा व्यक्तिहरू मनोनयन गरिएको हो।
उक्त बैठकले सल्लाहकार समितिको सहयोगमा खानेपानी तथा सरसफाई सेवाको स्तरोन्नति, नियमित अनुगमन र उपभोक्तामैत्री सेवा प्रवाहमा विशेष ध्यान दिने निर्णय समेत गरेको छ।