अत्तरिया उद्योग वाणिज्य संघका सचिव र स्ववीयु सभापतिविरुद्धको मुद्दा एसपीको टेबुलमा, दर्ता नगर्न नेताको दबाब

धनगढी, सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रि गरेको विषयमा छानविन गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा परेको छ ।

अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराविरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।

साउँद गोदावरी नगरपालिकाका मेयर बीरेन्द्र भट्टका स्वकीय सचिव समेत हुन् । उनीहरुविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयका एसपी देबेन्द्रबहादुर पालको टेबुलमा पुगे पनि दर्ता भएको छैन । एसपी पाललाई कांग्रेसकै नेता तथा कार्यकर्ताले किटानी जाहेरी दर्ता नगर्न दबाब दिइरहेका छन् ।

तर पालले भने किटानी जाहेरी प्राप्त भएको बताउँदै दर्ता हुने प्रक्रियामा रहेको जानकारी दिए । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरासहितका १२ जना पदाधिकारी उनीहरुविरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

अध्यक्ष बोहराले नक्कली टिकट प्रकरणमा आन्तरिक रुपमा छलफल गरेर संलग्नलाई गल्ती स्वीकार गर्न आग्रह गरिएको भएपनि त्यस्तो नगरिएपछि उनीहरुविरुद्ध अनुसन्धानका लागि प्रहरी कार्यालयमा उजुरी दिएको बताए ।

अत्तरियामा सञ्चालन भएको प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रि भएको भेटिएपछि यो विषयको अनुसन्धानको माग गर्दै व्यवसायीले यसअघि प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाएका थिए ।

 

ताजा समाचार