नक्कली टिकटको रहस्य गर्भमै : व्यापारीद्धारा अत्तरियामा हस्ताक्षर अभियान सुरु

अत्तरिया, अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ । ‘नक्कली टिकट प्रकरण सत्यतथ्य छानविन दवाव संघर्ष समिति’ ले सोमबारदेखि अत्तरिया बसपार्कबाट हस्ताक्षर अभियान सुरु गरेको हो ।

नक्कली टिकट ठेली प्रकरणलाई थामथुम पार्ने प्रयास भएकाले दवाव दिन हस्ताक्षर अभियान सुरु गरिएको संघर्ष समितिका संयोजक गणेश बहादुर बलायरले बताए । संघर्ष समितिले आइतबार नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापन पत्र बुझाएको थियो ।

अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालित सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए । नक्कली टिकट ठेलीबाट टिकट काटेर महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघलाई हानी नोक्सानी पुर्‍याएको भन्दै छानविन गरी दोषी पत्ता लगाउन माग गरिदै आएको छ ।

घटनाको छानविनका लागि संघले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि जिल्ला प्रहरीले अनुसन्धान अगाडि बढाएको भएपनि दोषी भने अझै पत्ता नलागेको प्रहरीले जनाएको छ । दोषी लुकाउन संघकै पदाधिकारी लागेको भन्दै अत्तरियाका व्यवसायीहरु दवाव दिदै आएका छन ।

 

ताजा समाचार