दोहोरी साँझमा लफडापछि देउवाको मृत्युको अनुसन्धान गर्न विज्ञ टोली परिचालन

धनगढी, कैलालीको अत्तरियामा दोहोरी साँझमा लफडापछि श्याम देउवाको मृत्युको अनुसन्धान गर्न विज्ञ टोली परिचालन गरिएको छ। पुस २५ गते राति अत्तरियाको न्यू दोहोरी साँझबाट निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय देउवाको मृत्यु प्रकरणमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरपति भट्ट नेतृत्वको विज्ञ टोली खटिएको हो।

प्रदेश कार्यालय महेन्द्रनगरबाट विज्ञ टोली खटाएर घटनाको सुक्ष्म अनुसन्धान भइरहेको प्रदेश प्रहरीले बताएको छ। विज्ञ टोलीले देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना अभियुक्तहरूको पोलिग्राफ परीक्षण लगायतका काम सकेको छ। विज्ञ टोलीसँगै जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ।

साथीसँगै अत्तरियास्थित न्यू दोहोरी साँझमा गएका देउवा त्यहाँ भएका अन्य व्यक्तिसँग वादविवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए। उनीसँगै गएका कृष्णपुरकै टेकबहादुर नायक मोबाइल दोहोरी साँझमै छुटेको भन्दै ल्याउन गएका बेला उनी त्यहाँबाट एक्लै हिँडेका थिए।

देउवालाई नदेखेपछि उनकै मोटरसाइकल चढेर नायक होटेलमा सुत्न गएका थिए। तर, देउवा भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा अर्धचेतन अवस्थामा भेटिएका थिए। देउवाले त्यहाँबाट फोन गरेपछि आफन्तले घर लगेका थिए।

शरीरमा चोटपटक देखेपछि आफन्तले उपचारका लागि त्यही दिन धनगढी ल्याएका थिए, उनको उपचारकै क्रममा मृत्यु भएको थियो। देउवाको मृत्यु भएपछि हत्या गरिएको भन्दै उनीसँगै गएका साथीसँगै ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो

त्यसपछि कैलाली प्रहरीले नायकसहित गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ बस्ने २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ बस्ने २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका–९ बस्ने ३८ वर्षीय रामबहादुर ऐर पक्राउ गरेको थियो। उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

ताजा समाचार