नक्कली टिकटको रहस्य गर्भमै : प्रशासनमा उजुरी,व्यापारीद्धारा कार्यालयमा विरोध

अत्तरिया, कैलालीको अत्तरियामा सम्पन्न सुदूरपश्चिम महोत्सवमा फेला परेको नक्कली टिकट ठेली प्रकरण उत्कर्षमा पुगेको छ । माघ ७ गते महोत्सव सम्पन्न भएपछि यो विषयले झन चर्चा पाएको छ । महोत्सव स्थलमा नक्कली टिकट ठेली पु¥याउनेलाई कारवाहीको माग गर्दै संघकै पदाधिकारी प्रशासन कार्यालय पुगेका छन भने संघमा आवद्ध व्यवसायीहरुले संघको कार्यालयमा विरोध जनाएका छन ।

मंगलबार संघका पदाधिकारीले नक्कली टिकट ठेली प्रकरणको छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता गराएका छन । संघका अध्यक्ष कल्यान सिंह बोहरा र महासचिव शंकर बहादुर खड्काको हस्ताक्षर रहेको निवेदनमा सार्वजनिक संस्थाको गरिमालाई ठेस पु¥याउने ककर्म गरिएकाले निश्पक्ष छानविनको मान गरिएको छ ।

निवेदन पत्रमा नक्कली टिकट ठेली प्रकरणका दोषि पत्ता लगाई क्षतिपूर्ति सहित असुल उपर गराइदिन पनि माग गरिएको छ । पुस २६ गतेदेखि सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको आठौं दिनमा टिकट स्थलबाट २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए ।

संघले वैधानिक रुपमा १ सय रुपैयाँको १ हजार ७ सय र ५० रुपैयाँका ५ सय ठेली गरी २ हजार २ सय ठेली छापेको थियो । माघ ४ गते संघका महासचिव नेतृत्वको टिकट छड्के चेकजाँच टोलीले संघले छपाएको भन्दा फरक किसिमका १ सय दरका २८ ठेली (१४००) प्रति बरामद गरेको थियो । संघले बरामद गरेका नक्कली टिकट सहित प्रशासनमा उजुरी दिएका संघका महासचिव खड्काले बताएका छन ।

व्यापारीको विरोध

यसैबीच संघका पदाधिकारीले नक्कली टिकट ठेली प्रकरणको छानविनमा उदासिनता देखाएको भन्दै अत्तरियाका व्यवसायीहरुले विरोध स्वरुप संघको कार्यालयमा ताला लगाएका छन । मंगलबार संघमा आवद्ध व्यवसायीहरुले नक्कली ठेली प्रकरणको बारेमा सबै व्यवसायीलाई जानकारी गराउनु पर्ने र दोषिलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै संघको कार्यालयमा ताला लगाएका हुन ।

व्यवसायी धना चोखालले संघका पदाधिकारीले छानविनका लागि जिल्ला प्रशासन जाँदा चोर र साधु संगै भएको अनुभूति भएको बताइन । उनले नक्कली टिकट ठेली फेला परेको ५ दिन वितिसक्दा पनि समितिका पदाधिकारीले खासै चासो नदेखाएकाले आफूहरुले दवाव दिन कार्यालयमा ताला लगाएको बताइन् ।

उनले पटक पटक संघमा यस्ता गतिविधि आइरहेकाले संघको वदनाम हुनबाट जोगाउन यस पटक जुनसुकै हालतमा पनि दोषि पत्ता लगाउन आवश्यक रहेको बताइन । व्यवसायी राम सापकोटाले यसअघि पनि संस्थाको बदनाम गराउने काम भएकाले दोषिलाई पत्ता लगाउन आवश्वक रहेको बताए । उनले पहुचका आधारमा दोषि लुकाउने काम गर्न नहुने बताए ।

यद्दपी संघमा आवद्ध अत्तरियाका व्यवसायीहरुले मंगलबार साँझ साढे ३ बजे ताला लगाएका भएपनि केही समयमै इलाका प्रहरी कार्यालयले ताला खोलेको थियो । ताला ईलाका प्रहरी कार्यालय मालाखेतीले खोलेको थियो । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक (डिएसपी) गणेश बरालले संघमा लगाईएको ताला खोलिएको जानकारी दिए ।

उनले संघका केही कागजातहरु राख्नुपर्ने भएकाले ताला खोलिएको बताए । उनले दोषीलाई कारबाहीका लागि छानविन भैरहेको पनि बताए । यता व्यवसायी धना चोखालले ताला खोलिएको बारे आफुहरुलाई जानकारी नभएको बताईन । संघमा ताला लगाएर ईलाका प्रहरी कार्यालयमा चाबी बुझाएको बताउदै उनले आफुहरुलाई जानकारी नै नदिई प्रहरीले ताला खोलेको बताईन ।

 

ताजा समाचार