कैलालीमा झण्डै १४ हजारले गराए गर्भपतन, किशोरीको संख्या बढ्दो

धनगढी, कैलालीमा गर्भपतन गराउने किशोरीको संख्या बढेको छ। साढे दुई वर्षमा करिब १४ हजारको संख्यामा सुरक्षित गर्भपतन गराएको तथ्यांकले देखाएको छ। जिल्लाका ५५ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट सो संख्यामा अनिच्छित गर्भपतन गराएको पाइएको हो। कैलालीमा गर्भपतन गराउनेको संख्या वर्षेनि बढ्दै गएको छ। कैलालीमा २९ महिनामा १३ हजार ८ सय ९५ ले सुरक्षित गर्भपतन गराएका छन्।

आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ५६७ ले सुरक्षित गर्भपतन गराएका छन् भने आर्थिक वर्ष २०७९/८० मा ५ हजार ४७७ ले गर्भपतन गराएका छन्। चालु आर्थिक वर्षको मङ्सिरसम्म थप २ हजार ८५१ ले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालय कैलालीका पब्लिक हेल्थ नर्स आशा थापाले बताइन्। कैलालीमा आर्थिक वर्ष २०७८÷७९ मा ५ हजार २०२ जना २० वर्षमाथिकाले सुरक्षित गर्भपतन गराएका छन् भने २० वर्षमुनिका किशोरीको संख्या ३६५ छ।

आर्थिक वर्ष २०७९/८० मा सुरक्षित गर्भपतन गराउने २० वर्ष माथिकाको संख्या ५ हजार २ सय छ भने २० वर्षमुनिका किशोरीको संख्या २७७ छ। चालु आर्थिक वर्षको पाँच महिनामा २० वर्ष माथिका २ हजार ५७९ ले सुरक्षित गर्भपतन गराउँंदा २० वर्ष मुनिका २७२ किशोरीले सुरक्षित गर्भपतन गराएका छन्। २० वर्षमुनि अर्थात् विवाह नगरेका किशोरीले गर्भपतन गराउने संख्या हरेक वर्ष बढ्दै गएको पब्लिक हेल्थ नर्स थापाले बताइन्।

कैलालीका ५५ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिन सकिने व्यवस्था छ। मेडिकल र सर्जिकल दुबै तरिकाबाट १२ हप्तामुनिको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था छ। हाडनाता करणी तथा गर्भका कारण महिलाको स्वास्थ्यमा जटिल समस्या आउने अवस्थामा भने १२ हप्तामाथिको गर्भपतन गराउन पाउने व्यवस्था छ।

कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा ४५, आर्थिक वर्ष २०७९/८० मा ४६ र चालु आर्थिक वर्षमा ९ जना महिला गर्भपतनका कारण भएको जटिलताले अस्पताल भर्ना भएको तथ्याङ्क छ। चिकित्सकहरूले भने पटकपटक गर्भपतन गराउँदा र असुरक्षित गर्भपतन हर्दा महिलामा विविध स्वास्थ्य समस्या देखापर्ने वरिष्ठ स्त्री तथा प्रसूति रोग विषेशज्ञ डाक्टर खगेन्द्रप्रसाद भट्टले बताए। ‘पटक–पटक गर्भपतन गर्दा महिलाको स्वास्थ्य कमजोर हुन्छ।

रक्तअल्पता हुने, पाठेघरमा घाउ हुने जस्ता समस्या देखापर्छन’् उनले भने, ‘धेरै पटक र असुरक्षित गर्भपतन गराउँदा पाठेघरको मुखको क्यान्सर हुने र फेरि गर्भ नरहने अर्थात् बाँझोपन देखापर्ने हुन्छ। तसर्थ गर्भपतन भन्दा परिवार नियोजनका साधन प्रयोग गर्नु राम्रो हुन्छ।’

जथाभावी औषधि सेवन गर्ने तथा गर्भपतनको अनुमति नपाएका मेडिकल, क्लिनिक र निजी अस्पतालबाट गर्भपतन गराउँदा पाठेघरमा समस्या आउनुका साथे ज्यानसमेत गुमाउनुपर्ने चिकित्सकको चेतावनी छ। धनगढीमै लुकीछिपी अनुमतिविना गर्भपतनको औषधि बिक्री गर्ने तथा गर्भपतन गराउने कार्य भइरहेको छ। लुकीछिपी हुने गर्भपतनको संख्या पनि उल्लेख्य भएको अनुमान स्वास्थ्यकर्मीहरुको छ।दिनेश खबरबाट साभार

 

ताजा समाचार