सुदूरपश्चिमा अनियमितताको ग्राफः ६ महिनामै ५४१ उजुरी अख्तियारमा दर्ता

धनगढी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा पाँच सय ४१ उजुरी दर्ता भएका छन्।चालु आर्थिक वर्षको साउनदेखि माघ पहिलो सातासम्म स्रोतअनुसार उजुरीको संख्या पाँच सय ४१ पुगेको हो।

आयोगको वेबसाइट, भाइबर, हुलाक सेवा, इमेल, टेलिफोन र लिखित रुपमा गरी अख्तियारमा उजुरी दर्ता हुनेक्रम बढेको छ। माघ महिना सुरु भएको ७ दिनमा मात्र १९ वटा उजुरी दर्ता भएका छन्।

पौष महिनामा ५१, मंसिरमा ९०, कात्तिकमा ४१, असोजमा ८२, भदौमा ८५ र साउन महिनामा सबैभन्दा बढी एक सय ७३ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएको पाइएको हो। सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्वन्धित हुने गरेको कार्यालयले जनाएको छ।

स्थानीय तहपछि प्रदेशसँग सम्वन्धित उजुरीको संख्या बढी देखिएको छ। साथै संघसँग सम्वन्धित उजुरी पनि बढ्दै गएको पाइएको छ। आयोगको कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७८/७९ बाट जिम्मेवारी सरेका उजुरीको संख्या ६ सय ७७, आर्थिक वर्ष २०७९/८० मा

दर्ता भएका उजुरीको संख्या एक हजार दुई सय ७५, कुल उजुरी संख्या एक हजार ९ सय ५२ थियो। गत आर्थिक वर्षसम्म सुदूरपश्चिममा संघीय आयोजनासँग सम्वन्धित तीन सय ७३, प्रदेशसँग सम्वन्धित पाँच सय ६८ र स्थानीय तहसँग सम्वन्धित एक हजार चार सय ७२ उजुरी दर्ता भएको तथ्यांक छ।

 

ताजा समाचार