नक्कली टिकट ठेली प्रकरण : दुई पटक पत्रकार सम्मेलन हुदाँ पनि रहस्य गर्भमै

अत्तरिया, कैलालीको अत्तरियामा जारी आठौँ संस्करणको महोत्सव आइतबार सम्पन्न भएको छ । विगतका तुलनामा व्यवसायीक रुपमा सफल मानिएको महोत्सव यस पटक विवाद रहित भने हुन सकेन । महोत्सवको सम्पूर्ण आयव्यय विवरण सार्वजनिक नगरिएपनि यस पटकको महोत्सव विगतका तुलनामा व्यवसायीक रुपमा सफल भएको आयोजकको दावी छ । तर, महोत्सवको आठौं दिन महोत्सवको टिकट स्थलमा नक्कली टिकट ठेली भेटिएपछि भने महोत्सव आयोजकमाथि आशङ्काको बादल मडारिएको छ ।

महोत्सवको मुख्य आय मानिएको टिकटमा गडबड भएको प्रश्न उठेपछि चौथो दिन सम्म पनि कुनै छानबिनको औपचारिक प्रक्रिया भने अगाडि बढाइएको छैन् । पहिलो दिन गुपचुप राखिएको घटना दोस्रो दिन बाहिरिए महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारीले पत्रकार सम्मेलन दुई पटक गरेर चोखिने प्रयास गरेपनि अन्य ठोस कारवाहीका लागि पहल भने भएको छैन । गम्भिर र चौतर्फी चर्चा पाएको विषयमा लगातार पत्रकार सम्मेलन गरेर आफ्ना तर्क राख्ने काम मात्रै हुँदै आएको छ ।

नक्कली ठेली भेटिएको चौथो दिन आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष कल्याण सिंह बोहराले दोषीलाई कुनै पनि हालतमा नछोडिने बताए । उनले महोत्सवलाई विफल बनाउन खोज्नेहरुले बदनाम गर्न खोजेको समेत बताए । त्यस्ता व्यक्तिहरुले कार्यसमितिलाई नै विभाजित गर्न खोजेको उनको दावी थियो । ‘यि ठेलीहरु देखिएका छन्, छापिएका छन ।

यसको विषयमा हामी छानविन गर्छौ, दोषीलाई कारबाहीको दायरामा ल्याउँछौ’ उनले भने ‘तर हिजोका दिन फेसबुकमा केही साथीहरु र पत्रकार मित्रहरुले पुरानो नयाँको कुरा गरेका छन, कार्यसमितिलाई नै विभाजित गर्न खोजेका छन । वास्तवमा हामी त एक भएर हिँडेका छौ नी । हामी सबै एकढिक्का भएका छौ, सबै खटिएका छौ ।’ उनले आफूहरूले महोत्सवलाई सफलता पूर्वक सम्पन्न गरेको भएपनि टिकट ठेलीको विषय विवादमा आएकाले यसमा कुनै पनि हालतमा अनुसन्धान गरिने बताए ।‘यो हामीले महोत्सवलाई सफलता पूर्वक सम्पन्न गरेका छौ, हामी सफल भएका छौ’ उनले भने ‘तर यो टिकटको विषय जुन छ, यसलाई के कति कारणले भएको हो, कसले गरेको हो भन्ने विषयमा हामी छानविन गर्छौ ।’ यती बताइरहँदा उनले कहिले छानबिन गर्ने भन्ने कुरा भने खुलाएनन् ।

यद्यपि विगतको र केही दिन कार्यसमितिले काटेको टिकटलाई आधार मान्दा एभरेज मिलेकाले गलत गर्न खोज्नेले पनि गर्न नसकेको आशंका गरे । यसअघि शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघका महासचिव शंकर खड्काले महोत्सव स्थलमा भेटिएका टिकट नक्कली नै भएको बताएका थिए । संघका महासचिव शंकर खड्काले टिकट काउन्टरमा छड्के अनुगमन गर्दा नक्कली टिकट काटेको फेला परेको बताउँदै आफूसहित संघका केही अन्य प्रतिनिधिहरूले नक्कली टिकट ठेली बरामद गरेको बताएका थिए । सोही पत्रकार सम्मेलनमा बोल्दै टिकट ठेली छपाइको जिम्मा पाएका संस्थाका सदस्य बम बहादुर बोगटीले बरामद गरिएका टिकट ठेलीहरू नक्कली भएका धेरै आधारहरू सार्वजनिक गरेका थिए ।

आठौं संस्करणको महोत्सवमा टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियू० लाई दिइएको थियो । स्ववियु सभापति भुवन महराले अत्तरियामा सञ्चालित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकटको विवादमा स्ववियुलाई बद्नाम गर्न खोजिएको बताएका छन । ‘यदि हामीले गलत गरेको भए टिकटको अर्धकट्टी हामीले त्यहाँ राख्ने थिएनौ होला, गलत ठेली हो भन्ने थाहा भए त हामी लुकाएर पनि फाल्ने थियौ होला’ उनले भने ‘हामीले गल्ती गरेका छैनौ, हामो दोष छैन, आयोजकबाट आएका ठेलीहरु काट्ने काम मात्रै गरेका छौ । यहाँ केही अराजक तत्वहरूले स्ववियुलाई बदनाम गर्ने काम मात्रै गरिरहेका छन ।’

नक्कली टिकट ठेलीको प्रकरण महोत्सवको समापनमा कार्यक्रममा पनि चासोको विषय बन्यो । कार्यक्रमका प्रमुख अतिथि रहेको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले महोत्सवमा देखिएको नक्कली टिकट ठेली प्रकरणको छानबिन गरिनुपर्ने बताएका छन । उनले टिकट प्रकरणको छानबिन गरी गलती अगाडि ल्याउनुपर्ने बताए ।

‘कुनै पनि सस्था विधि र विधानमा चल्छ । विधि र विधान भन्दा बाहिर गएर एकले अर्कालाई दोषारोपण गरेर हुँदैन । तपाईंहरू सबै जिम्मेवार हो । यदि गलती भएको छ भने यो गल्तीलाई अगाडि ल्याउनुहोस । यसको छानबिन हुनुपर्छ’ उनले भने ‘सबै कुराको पारदर्शिता हुन आवश्यक छ ।

मनोमानी ढंगले तपाईंहरू नहिड्नुहोस ।’ उनले नक्कली टिकट ठेली प्रकरणले अत्तरिया क्षेत्र पनि बदनाम हुने बताए । उनले भने ‘यसरी एकातिर संस्था बदनाम हुन्छ भने ठाउँ पनि बदनाम हुन्छ । त्यसैले सबै जिम्मेवार बन्न आवश्यक छ ।’नक्कली टिकट ठेली प्रकरणमा चार दिन देखि समितिका पदाधिकारीले रिएक्सन देखाएपनि यस प्रकरणमा दोषी पत्ता लगाउन एक्सन लिइन्छ या लिइदैन त्यो भने हेर्न बाकी छ ।

 

ताजा समाचार