१३ करोड ४६ लाखको भवन गोदावरी नगरपालिकालाई हस्तान्तरण

धनगढी, एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण लगानीमा निर्माण सम्पन्न भवन गोदावरी नगरपालिका (अत्तरिया) लाई हस्तान्तरण गरिएको छ।

क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले १३ करोड ४६ लाख बढीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन नगरपालिकालाई हस्तान्तरण गरेको हो। भवन क्षेत्रीय सहरी विकास कार्यालय धनगढीका इन्जिनियर शौरभ कलौनीले नगरप्रमुख बिरेन्द्र भट्टलाई हस्तान्तरण गरेका छन्।

भवन निर्माणका लागि शर्मा एण्ड कम्पनीसँग सम्झौता भएको थियो। २०७६ मंसिर २० गतेदेखि सुरु भएको भवन निर्माणमा १३ करोड ४६ लाख एक हजार ४३ रुपैयाँ खर्च भएको आयोजना कार्यालयले जनाएको छ।

सो भवन निर्माणको काम २०८० असोज २५ गते निर्माण सम्पन्न भएको थियो। भवनको माघ ४ गते फेरी उद्घाटन गरिने नगरपालिकाले जनाएको छ। यसअघि सोही प्रशासकीय भवन निवर्तमान नगरप्रमुख हरिसिंह साउँदले २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए।

 

ताजा समाचार