कञ्चनपुरको सामुदायिक वनमा रुख कटानी,अध्यक्षसहित दुई जना पक्राउ

कञ्चनपुर, कञ्चनपुरको एक सामुदायिक वनमा रुख कटानी भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ स्थित वाणीमा रहेको गडबिजला सामुदायिक वनमा सालका काँचा रुख अबैध रुपमा कटानी भएको हो। वनभित्र काटिएका रुख वन डिभिजन कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ।

काँचा रुख नै कटानी भएपछि रुख कटानीमा संलग्न रहेको भन्दै सामुदायिक वनका अध्यक्ष धनीराम चौधरी र नारायण चौधरीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमिक्त डिभिजन प्रमुख कालीराम चौधरीले बताए। ‘सामुदायिक वनभित्र काँचा रुख कटानी भएको छ, हामीले अनुसन्धानका लागि हिजो (शनिबार) दुई जनालाई नियन्त्रणमा लिएका छौँ, अहिले रुख कटानीको विषयमा अनुसन्धान भइरहेको छ।’, उनले भने।

सामुदायिक वनबाट गत साता तीनवटा सालका रुख काटिएका थिए। काटिएका काँचा रुख वनले नियन्त्रणमा लिएको उनले बताए। गडबिजला समुदायिक वनका अध्यक्ष धनीराम चौधरीले वनमा गस्ती जाने क्रममा तस्कर समुहले मेसिनले तीन सालका काँचा रुख काटेको बताएका थिए। सुरुमा वनमा काठ तस्करी भएको जानकारी दिने वनकै अध्यक्ष अहिले आफै पक्राउ परेका छन्। स्थानीयले भने घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन्।

 

ताजा समाचार