महोत्सवमा सांसद बलायरलाई माग सहित ९ किलोको माला

अत्तरिया , कैलालीको अत्तरियामा आजबाट सुदुरपश्चिम प्रादेशिक महोत्सव शुरु भएको छ । महोत्सवको कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद वीरबहादुर बलायरले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा उनलाई आयोजक अत्तरिया उद्योग बाणिज्य संघले ६ ओटा मागसहित ९ किलोको माला लगाएको छ भने मागपत्र पनि बुझाएको छ ।

संघको मागपत्रमा गोदावरी नगरपालिका क्षेत्रभित्र खुल्ला मञ्चको व्यवस्थापन गरी विकास गर्न, गोदावरी धाम तथा हाटखोली क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरी कार्य सञ्चालन गर्न, सुदूरपश्चिम प्रादेशिक राजधानी यथाशीघ्र कार्यान्वयनमा ल्याउन र गेटा विमानस्थलको स्तरोन्नतीका लागि आवश्यक पहल गर्न भनिएको छ ।

 

त्यस्तै, अत्तरिया बजार क्षेत्रको भीमदत्त राजमार्ग पूर्वपट्टिको नेपाली सेनाको भोगाधिकार रहेको जग्गामा वर्षौँदेखि घर टहरा बनाई व्यापार व्यवसाय गर्दै आएकाहरुको हकहितमा हुने गरी कार्यान्वयन गराई आवश्यक पहल गरिदिन र गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको रुपमा सञ्चालन गर्न आवश्यक पहल गरिदिन भनिएको छ ।

महोत्सवको आठौँ संस्करणलाई भव्यताका साथ सफल पारी नवौँ संस्करणको महोत्सव आयोजना गर्ने आधार बनाउनुका साथै प्रादेशिक महोत्सव पनि भएकाले सुदूरपश्चिमका नौ ओटै जिल्ला समेट्ने गरी नौ किलोको माला लगाइएको बताइएको छ । महोत्सव आजबाट सुरु भई माघ ७ गतेसम्म सञ्चालन हुनेछ ।

समृद्ध प्रदेशको आधार, कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ २०७२ सालबाट शुरु भएको महोत्सव अहिले आठौं संस्करणको रुपमा सञ्चालन भएको छ । अत्तरिया स्थित पूर्वरोडको लामिताल परिसर पुरानै स्थानमा महोत्सव सञ्चालन भएको छ ।

 

ताजा समाचार