डडेल्धुराको परशुराममा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

डडेल्धुरा, डडेल्धुराको परशुराम नगरपालिकामा १४ औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्ररियोगिता सुरु भएको छ। नगरपालिकाको आयोजनामा बिहीबारदेखि परशुराम रंगमैदानमा प्रतियोगिता सुरु भएको हो।

परशुराम नगरपालिका – १२ जोगबुढास्थित रंगमैदानमा सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले प्रतियोगिताको उद्घाटन गरे।

प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद खेलाडीहरूका लागि निकै महत्त्वपूर्ण रहेको बताए । उनले खेलकुदबाट खेलाडीहरूको आत्मसम्मान र समाजिक सम्मान प्राप्त गर्ने बताए ।

प्रतियोगिता उद्घाटन समारोहको सभाध्यक्ष एवं परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायरले खेलमा हारजितभन्दा खेलाडीहरूलाई खेलमा सहभागी हुनु नै ठूलो कुरा रहेको बताए। उनले अहिलेको हारले आगामी दिनमा सिकेर जित्ने गरी आउन विद्यार्थीहरूलाई आग्रह गरे ।

कार्यक्रममा नगर उपप्रमुख विमला महताले खेलाडीहरूले आफूभित्र रहेको प्रतीभालाई खेलमार्फत प्रदर्शन गरेर कोही प्रथम भएर गएतापनि हार हुने विद्यार्थीहरूले केही न केही सिकेर जानेमा विश्वास व्यक्त गरिन् ।

प्रतियोगितामा नगरपालिकाभित्रका १६ सामुदायिक विद्यालयको सहभागिता रहेको छ। छात्र–छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दोलगायतका खेलहरू प्रतियोगितामा खेलाइँदै छ ।

बिहीबारबाट सुरु भएको प्रतियोगिता पुस २१ गतेसम्म सञ्चालन हुने छ । नगरस्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउनेछन् ।

 

ताजा समाचार