दुर्व्यसनीलाई सिप सिकाउँछौँ : नगर प्रमुख हमाल

धनगढी, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले दुर्व्यसनीमा परेका युवालाई सिपमूलक तालिम दिने बताएका छन्। कैलालीको धनगढीमा लागु औषध दुर्व्यसनीलाई राख्न  सञ्चालन गरिएको आसरा सुधार केन्द्र उद्घाटन कार्यक्रममा उनले दुर्व्यसनीहरूलाई सिप सिकाउने बताएका हुन्।

कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूको सहयोगमा फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा आएको छ। नेपाल प्रहरी, श्रीमती संघको निगरानीमा सञ्चालनमा हुने सुधार केन्द्रका दुर्व्यसनीहरूलाई निःशुल्क सिप सिकाउने नगर प्रमुख हमालले बताए। हमालले भने, ‘केन्द्रबाट युवाहरू बाहिर समाजमा जानु हुन्छ। समाजमा पुनस्थापना हुनुपर्ने छ।

सुधार केन्द्रबाट गएकाहरू सिप र रोजगारी नभएपछि फेरि दुर्व्यसनीमा फर्किनु हुन्छ। उहाँहरूलाई हामी तालिमसँग जोड्छौ। समाजका लागि बोझ भएको मानिस, समाजको लागि आवश्यक भएको बनाएर पठाउछौ।’ निःशुल्क तालिमका लागि विद्यालय सञ्चालनमा रहेको उनले बताए। चार प्रकारका तालिम उपमहानगरपालिकामा तालिम दिन सुरु गरिएको उनले बताए।

धनगढी उपमहानगरपालिकाले वडा नम्बर १४ फूलबारीमा रहेको भवनसहितका संरचनाहरू प्रहरी श्रीमती संघलाई सुधार केन्द्र सञ्चालनका लागि उपलब्ध गराइएको थियो। धनगढी उपमहानगरपालिकाले भवन, फर्निचर, जेनरेटर तथा कार्पेटसहितका सामाग्री समेत सहयोग गरेको थियो।

कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूले आर्थिक सहयोगमा सुधार केन्द्र बुधवारदेखि सञ्चालनमा आएको छ। धनगढीले १० लाख, नगरपालिकाहरूले पाँच÷पाँच लाख तथा गाउँपालिकाहरूले तीन÷तीन लाखका दरले आसरा सुधार केन्द्र सञ्चालनका लागि प्रहरी श्रीमती संघलाई सहयोग गर्ने सम्झौता छ।

 

ताजा समाचार