धनगढीमा लागु औषध दुर्व्यसनीलाई राख्न ‘आसरा’ सुधार केन्द्र सञ्चालन

धनगढी,कैलालीको धनगढीमा लागु औषध दुर्व्यसनीलाई राख्न आसरा सुधार केन्द्र आज (बुधवार)देखि सञ्चालनमा आएको छ। कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूको सहयोगमा फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा आएको हो। नेपाल प्रहरी, श्रीमती संघको निगरानीमा सुधार केन्द्र रहने छ। धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा रहेको भवनसहितका संरचनाहरू प्रहरी श्रीमती संघलाई सुधार केन्द्र सञ्चालनका लागि उपलब्ध गराइएको छ। केन्द्र सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले भवन, फर्निचर, जेनरेटर तथा कार्पेटसहितका सामाग्री सहयोग गरेको छ।

नगर प्रमुख गोपाल हमालले सुधार केन्द्र सञ्चालनका लागि आवश्यक भौतिक सामाग्री सहयोग गरेको बताए। उनले दुर्व्यसनीमा परेका परिवारका सदस्यका कारण घर परिवार तहसनहसन भइरहेको भन्दै सुधार केन्द्र सञ्चालनमा सहयोग गरेको बताए। सुधार केन्द्र सञ्चालनका लागि कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूले आर्थिक सहयोग गर्ने सम्झौता समेत गरेका छन्। धनगढीले १० लाख, नगरपालिकाहरूले पाँच/पाँच लाख तथा गाउँपालिकाहरूले तीन/तीन

लाखका दरले आसरा सुधार केन्द्र सञ्चालनका लागि प्रहरी श्रीमती संघलाई सहयोग गर्ने सम्झौता छ। उपमहानगरपालिकाले फूलबारीमा रहेको भवनसहितको जग्गा २० वर्षका लागि सुधार केन्द्रलाई उपलब्ध गराएको छ। उपमहानगर प्रमुख हमालले उनले भने, ‘केही युवा भएपनि जोगाउने लक्ष्य हाम्रो थियो। कैलाली र कञ्चनपुरका सबै पालिका प्रमुखहरूलाई बोलाएका थियौ। सबै मिलेर सुधार केन्द्र सञ्चालन गर्ने सहमति भएको थियो। २२ वटा स्थानीय तह मिलेर सुधार केन्द्र सञ्चालनमा आएको छ। सायद यो नेपालमा पहिलो होला।’

प्रहरी श्रीमती संघले तेस्रो शाखाका रूपमा धनगढीको फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालन गरेको हो। केन्द्रमा दुर्व्यसनीमा परेकाहरूलाई राखिने छ। दुर्व्यसनीमा परेकाहरूलाई सुधार गर्ने लक्ष्य आसरा सुधार केन्द्रको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले २० वर्षका लागि सम्झौता भए पनि प्रहरीले लामो समयसम्म आसरा सुधार केन्द्र फूलबारी सञ्चालन गर्ने बताए। उनले भने, ‘दिगो रूपमा सञ्चालन गर्ने छौ। रानीबारी, काठमाण्डौ, धनार र धनगढीको फूलबारीमा हामीले आसरा सञ्चालन गरेका छौ। कुलत दुर्व्यसनीमा परेकाहरूलाई असल नागरिक बनाउनेछौ। स्थापना कालदेखि सामाजिक रूपान्तरणको काम गर्दै आएका छौ।’

कञ्चपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भविष्यका ढोकाहरू लागु औषधले बन्द गर्ने गरेको बताए। उनले भने, ‘हाम्रा युवाहरू विदेशमा छन्। स्वदेशमा रहेकाहरू दुर्व्यसनीमा छन्। खुला सिमानाका कारण समस्या छ। बाजुरा, बैतडीसहितका पहाडी जिल्लाहरूमा पनि जालो फैलिएको छ। आपूर्ति रोक्न खुला सिमानाका कारण समस्या भएको छ।’

फूलबारीमा सञ्चालनमा आएको आसरा सुधार केन्द्रमा २ सय दुर्व्यसनीसम्म राख्न सकिने क्षमता छ। उनीहरूलाई बिरामीको शैलीमा उपचार गरिने छ। प्रहरीले एम्बुलेन्ससहिको उपचार सेवा उपलब्ध गराउने छ। प्रहरीमा हिरासतमा राखिने दुर्व्यसनीहरू अब आसरा सुधार केन्द्रमा राखिने छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सबै सुरक्षा संयन्त्रको सहयोगमा लागुऔषधको कारोबार कम गर्ने बताए। उनले भने, ‘दुर्व्यसनीहरूलाई असल नागरिकका रूपमा समाजमा पुनर्स्थापनाका लागि आसरा सञ्चालनमा आएको हो। सबैको सहकार्य आवश्यक छ।’

प्रहरीले उनीहरूबाट मासिक न्यूनतम शुल्क समेत लिने छ। खाना, आवास र अध्ययनको गरेर चार महिनामा ५८ हजार रुपैयाँ आसरालाई दुर्व्यसनीले बुझाउनुपर्ने छ। उनीहरूले औषधिको २ हजार पाँच सय, मर्मत तथा सुधारको एक हजार, पोसाकको चार हजार पाँच सय गरेर ६६ हजार रुपैयाँ तिर्नुपर्ने छ। थप उपचार गर्नुपर्ने भएपछि मासिक १४ हजार पाँच सय रुपैयाँ तिनुपर्ने छ।

 

ताजा समाचार