विद्यार्थीलाई नक्कली शैक्षिक प्रमाण पत्र, विदेश पठाउने भन्दै रकम असुली

धनगढी, कैलालीको धनगढीमा विद्यार्थीलाई नक्कली शैक्षिक प्रमाणपत्र थमाएर भिजिट भिसामा विदेश पठाइदिने भन्दै ठगी गरेको विषय बाहिर आएको छ।

धनगढीको इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इनफर्मेसन टेक्नोलोजी प्रालिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट ३९० घण्टाको छोटो अवधीका तालिम सञ्चालन गर्ने अनुमति लिएको भए पनि सीटीईभीटीको लोगो प्रयोग गरेर तीन वर्षे डिप्लोमा तहका सिप विकास तालिम उत्र्तिण गरेको भन्दै विद्यार्थीलाई नक्कली शैक्षिक प्रमाणपत्र दिएपछि लफडा भएको छ।

नक्कली शैक्षिक प्रमाणपत्र थमाएर भिजिट भिसामा इनटर्नसीप गराउने दुबई पठाउने भन्दै विद्यार्थीबाट रकम असुली गरेको समेत खुलेको छ। गत वर्ष एसईई परीक्षा उत्र्तिण गरेर उक्त इन्सिच्युटमा होटल म्यानेजमेन्टमा डिप्लोमा अध्ययन गर्न भर्ना भएका धनगढी उपमहानगरपालिका–३ बिशालनगरका महेश चन्दले संस्थाले विदेश पठाउने भन्दै साढे दुई लाख रुपैयाँ अग्रिम लिएको गुनासो गरे।

चन्दकाअनुसार इन्सिच्युटले ६ महिने कोर्ष भन्दै शैक्षिक शुल्क वापत एक लाख ८० हजार रुपैयाँ सुरुमै लिएको थियो भने १० हजार रुपैयाँ पोशाक खर्चका लागि लिएको थियो। ६ महिना मात्र उक्त इन्सिच्युटमा अध्ययन गरेका चन्दलाई प्रोफेसनल डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट (लेबल–३) उत्र्तिण गरेको प्रमाणपत्र दिइएको छ।

होटल म्यानेजमेन्टमा डिप्लोमा अध्ययन गराएर इन्टर्नसीप गर्न विदेश पठाउने प्रलोभन देखाएर भर्ना गरेको इन्सिच्युटले आफुहरुको भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थीले विरोध गरेका छन्। आफुहरुको भविष्यमाथि खेलवाड गर्ने इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इनफर्मेसन टेक्नोलोजीलाई कारवाही गर्नुपर्ने माग विद्यार्थीहरुको छ।

इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इन्र्फमेसन टेक्नोलोजीलाई शैक्षिक शुल्क बाहेक विदेश जान दुई लाख ५० हजार बुझाइसकेका धनगढीकै किरण बिष्टले कलेजले आफूहरुमाथि अन्याय गरेको गुनासो गरे। टेक्नोलोजीका प्रिन्सिपल सबिन रोकायाले भने अभिभावकै आग्रहअनुसार भिजिट भिसामा विदेश पठाउन खोजेको दाबी गर्दै आएका छन्।

इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इनफर्मेसन टेक्नोलोजीले विद्यार्थी महेश चन्दलाई थमाएको डिप्लोमा तहको प्रमाणपत्रमा प्राविधिक शिक्षा तथा व्यावसयिक तालिम परिषद्(सिटीईभीटी)को लोगो समेत प्रयोग गरेको देखिएको छ। सिटीईभीटीबाट सम्बन्धन प्राप्त गरेको अवस्थामा समेत आफ्नै लोगो र छाप प्रयोग गर्नुपर्ने हो तर सो इन्सिच्युटले विद्यार्थीलाई दिएको सर्टिफिकेटमा सिटीईभीटीसँगै ओथम क्वालिफिकेसन लेखिएको लोगो प्रयोग गरेको छ।

इन्सिच्युट अफ हस्पिटालिटी एण्ड इनफर्मेसन टेक्नोलोजीका प्रिन्सिपल रोकायाले भने सर्टिफिकेटमा सिटीईभीटीको लोगो त्रुटीबस पर्न गए पनि ओथम भन्ने संस्था बैध नै भएको दाबी गरेका छन्। विद्यार्थीबाट मोटो रकम लिएर विदेश पठाउँने भन्दै नक्कली शैक्षिक प्रमाणपत्र थमाएपछि पीडित विद्यार्थी र प्रालिका प्रिन्सपलबिच भनाभन नै भएको छ। ठूलो संख्यामा जम्मा भएका पीडित विद्यार्थीहरुले आफ्नो रकम फिर्ता गर्नुका साथै क्षतिपुर्ति समेत दिनुपर्ने माग अघि सारेका छन्।

 

ताजा समाचार