सुदूरपश्चिममा ७ वटा घटनामा परेर १२ जनाको मृत्यु, तीन करोड बढीको क्षति

धनगढी,सुदूरपश्चिममा विभिन्न ७ वटा घटनामा परेर चालु आर्थिक वर्षको साउन देखि पौष ९ गतेसम्म १२ जनाको मृत्यु भएको छ। विपदका घटनामा परेर सो अवधिसम्म तीन करोड बढीको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ।

सर्पदंश, पहिरो, जनावर आंतक, भूकम्प, बाढी तथा चट्याङबाट गरी ८ जना महिलाको मृत्यु भएको छ। त्यस्तै सर्पदंश, पहिरो, बाढी तथा लेक लागेर गरी चार जना पुरुषको मृत्यु भएको छ। सुदूरपश्चिममा सो अवधिसम्म प्राकृतिक विपदका दुई सय १८ घटना घटेका छन्।

ती घटनाबाट ४२ महिलासहित ७६ पुरुष घाइते भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको तथ्यांकले देखाएको छ। यस्ता विपदका घटनाबाट पाँच महिनाको अवधिमा तीन हजार ७ सय ७३ परिवार प्रभावित बन्न पुगेको देखिएको छ।

विपदबाट ९९ घरमा पूर्ण क्षति पुगेको छ भने ६ सय ४९ भौतिक संरचनामा आंशिक क्षति पुगेको छ। साथै सो अवधिसम्म २६ गोठ र ७४ पशुचौपायामा समेत नोक्सानी पुगेको केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ।

तीन करोड बढीको क्षति

चालु आर्थिक वर्षको साउनदेखि पौष ९ गतेसम्म जनावर आंतक, आगलागी र भारी वर्षाबाट गरी तीन करोड बढीको क्षति भएको अनुमान गरिएको छ। सो अवधिसम्म जनावर आंतकबाट एक लाख ३० हजार, भारी वर्षाबाट ९ लाख ६० हजार तथा सबैभन्दा बढी आगलागीबाट तीन करोड १५ लाख २४ हजार चार सय ५० गरी कुल तीन करोड २६ लाख १४ हजार चार सय ५० रुपैयाँ बराबरको आर्थिक क्षति भएको केन्द्रको अनुमान छ।

 

ताजा समाचार