यौन दुर्व्यवहारको आरोपमा एक जना प्रहरी नियन्त्रणमा

अछाम,अछाममा एक किशोरीमाथि यौन दुर्व्यवहार भएको छ । यौन दुर्व्यवहारको घटनामा कानुनी उपचारको बाटो छेकेपछि दुर्गम तुर्माखाँद गाउँपालिका-५ की १६ वर्षीया ती किशोरीले आत्महत्या प्रयास गरेकी छन् ।

यौन दुर्व्यवहारको घटनामा गाउँमै मिलाउन दबाब दिएपछि अन्याय भएको भन्दै ती किशोरीले आत्महत्याको प्रयास गरेकी हुन् । पुस ७ गते तुर्माखाँद बजारबाट घर जाने क्रममा २९ वर्षका सर्प विकले उनलाई हातपात सहित जबरजस्ती करणी गरेको आरोप छ । मदिराले लठ्ठ भएका विकले बजारबाट घर जाने बेला देखि नै ती किशोरीलाई पच्छ्याइ रहेका थिए ।

घरनजिक पुग्ने बेला मदिराले मातेका सर्पले जब उनको शरीर माथि आक्रमण गर्न थाले तब ती किशोरीकी आमाले सुनिन् । आमा घटनास्थल नपुग्दै भागेका विकले घर पुगेर गल्ती गरे माफ गर्नुस् भन्दै फोन गर्न थाले । उनकी आमाका अनुसार घटनाको पछिल्लो दिन जनप्रतिनिधि, केटा पक्ष र किशोरीका आफन्त सहित गाउँलेहरु बसेर घटना गाउँमै मिलाउनु पर्ने भन्दै दबाब दिए ।

किशोरीले आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएपछि सोमबार प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले बताए । अहिले किशोरीको उपचार भइरहेको र घटनाको विषयमा थप बुझेर आवश्यक प्रक्रिया थालिने उनले बताए ।

 

ताजा समाचार