सुदूरपश्चिम पछाडी पर्नुको कारण यसरी खुलाए उद्योगपति विनोद चौधरीले

धनगढी,सुदूरपश्चिम लगानीका लागि उर्वर मानिए पनि सरकारकै कारण पछाडी परेको उद्योगपति विनोद चौधरीले बताएका छन्।

सुदूरपश्चिमलाई विशेष आर्थिक जोनका रुपमा विकास गर्न सकिन्छ त्यसको पहिलो आधार भनेको नीति नै हो। कांग्रेस नेता एवं उद्योगपति चौधरीले सुदूरपश्चिम अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएपनि सरकारकै कारण पछाडि पारिएको बताए। उनले लगानी सम्मेलनबाट लगानी आकर्षित हुने गरी प्रष्ट दृष्टिकोण र नीति ल्याउन सरकारलाई आग्रह गरे।

‘कुनै पनि व्यापारीले किन सुदूरपश्चिममा लगानी गर्ने भन्ने कुरा सरकारले बनाउने नीतिले तय गर्छ,’ उनको सुझाव थियो, ‘सुदूरपश्चिम प्रदेशको सम्भावना के हुन्, त्यसका लागि प्रदेश सरकारले कस्तो सहुलियत दिन्छ भन्ने कुराले नै लगानीको वातावरण बनाउने हो। बाहिरी मुलुकको पनि अध्ययन गरेर एउटा स्पष्ट नीति बनाउन प्रदेश सरकारसँग उनको आग्रह छ। चौधरीले जडिबुटी, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रमा ध्यान दिन समेत सुझाएका छन्।

आफ्नो पनि रोजाईमा सुदूरपश्चिम प्रदेश रहेकाले त्यसका लागि सरकारको नीति पर्खिरहेको उनले बताए। सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोलीले उद्योगपति चौधरीसँग गरिएको छलफलका क्रममा उनले लगानी आकर्षित हुने गरी प्रष्ट दृष्टिकोण र नीतिमा जोड दिएका हुन्।

लगानी सम्मेलनलाई सफल बनाउन मुख्यमन्त्री शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेश शाहीलगायतको टोलीले हिजो काठमाडौंमा उद्योगपति चौधरीसँग छलफल गरेको हो। मुख्ममन्त्री शाहले लगानी सम्मेलनका बारेमा जानकारी गराउँदै सुदूरपश्चिममा लगानीका लागि चौधरीलाई आग्रह गरेका छन्। उनले लगानीका लागि आवश्यक वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए।

मुख्यमन्त्री शाहले संघीय सरकारले आवश्यक कानुन निर्माण नगरिदिँदा प्रदेश सरकारलाई काम गर्न केही कठिनाई भएपनि प्रदेश सरकारका तर्फबाट उद्योगी व्यापारीलाई लगानी गर्न कुनै अफ्ठ्यारो नपार्ने बताए। ‘हामी अधिकारका लागि संघीय सरकारसँग लडिरहेकै छौं। जसरी हुन्छ संविधानले दिएको अधिकार प्रदेशले पाउन हामी निरन्तर संघसँग संवादमा छौं,’ उनले थपे, ‘तपाईंले व्यक्तिगत र अन्य देशभित्र र बाहिरका लगानीकर्तालाई सुदूरपश्चिममा लगानीका लागि आकर्षित गर्न सहयोग गरिदिनुस्।’

प्रदेश सरकारका भौतिक योजनामन्त्री प्रकाश देउवाले लगानीकर्ताका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेकोमा जोड दिए। उनले अन्तर्राष्ट्रिय रुपमै ख्यातिप्राप्त उद्योगी चौधरीलाई सम्मेलनमा विदेशी लगानीकर्ता ल्याउन सहजीकरण गरिदिन आग्रह समेत गरेका छन्। आगामी फागुन २३ र २४ गते धनगढीमा हुने विकास एवं लगानी सम्मेलनका लागि मुख्यमन्त्रीसहितको टोली करिब दुई महिनादेखि भेटघाट र छलफलमा केन्द्रित देखिएको छ।

 

ताजा समाचार