सुदूरपश्चिममा धान उत्पादनमा भारी गिरावट

धनगढी, सुदूरपश्चिममा यस वर्ष धान उत्पादनमा भारी गिरावट भएको छ । उत्पादनमा आएको गिरावटका कारण धान भित्र्याएको तीन महिनामै बजारमा धानको अभाव भएको छ । कैलाली र कञ्चनपुरमा करीव १५ लाख क्वीन्टल धान उत्पादन हुने गरेकोमा यस वर्ष उत्पादनमा ५० प्रतिशतले गिरावट आएको खाद्य उद्योगीहरुले बताएका छन् ।

सुदूर पश्चिमका पुराना खाद्य उद्योगी ओमप्रकाश अग्रवालले धान उत्पादनमा ५० प्रतिशतले कमि भएको बताए । बिगतका वर्षहरुमा करीव १५ लाख क्वीन्टल धान उत्पादन हुने गथ्र्यो, बरिष्ठ उद्योगपति अग्रवालले भने, यस वर्ष उत्पादनमा झण्डै ५० प्रतिशतले कमि आएको छ ।

उनले बिगतको तुलनामा यस वर्ष आफ्नो उद्योगसंग ५० प्रतिशत मात्र धान मौज्दात रहेको बताए । यो समय सबै उद्योगीका गोदामहरु धानले भरिएका हुन्थ्यो, तर अहिले सबैका गोदाम आधा खाली छन् । कतिपयका पुरै खाली छन् ।

ठाकुर एग्रो ईण्डष्ट्रिजका सञ्चालक हरीशंकर ठाकुरले धान उत्पादनमा आएको गिरावटसंगै बजारमा चामलको अभाव भएको बताए । उनले धान उत्पादनमा आएको गिरावटका कारण पहाडी जिल्लाहरुमा अहिले नै चामलको अभाव भएको बताए ।

धानको अभाव भएसंगै प्रति क्वीन्टल चार हजार दुई सय रुपैया रहेको मोटा चामलको मूल्य बृद्धि भएर पाँच हजार पाँच सय रुपैया प्रति क्वीन्टल पुगेको छ । मसिनो चामलको मूल्य पनि प्रति क्वीन्टल एक हजार पाँच सय रुपैयाले बृद्धि भएको छ । तीन महिनाअघि छ हजार रुपैया प्रति क्वीन्टल रहेको मसिनो चामलको मूल्य यतिबेला सात हजार पाँच सय पुगेको छ ।

तीन महिनापछि नेपाली धानको चामल नेपालीले खान पाउने अवस्था देखिदैन । सरकारले चासो नदिए सुदूरपश्चिममा तीन महिनापछि खाद्यान्नको हाहाकार हुने निश्चित छ, ठाकुरले भने, सरकार पनि चामलको अभाव पूर्तिका लागि चामल कहाँबाट ल्याउने भन्ने विषयमा गम्भीर देखिएन ।

खाद्य संस्थानका धान खरीद डिपोहरु रित्ता

पहाडी जिल्लाहरुमा हुने खाद्यान्न अभावलाई टार्न हरेक वर्ष धान खरीद गर्दै आएको खाद्य संस्थानले यस वर्ष पनि कार्तिक महिनाको तेस्रो साता धान खरीद शुरु गरेको थियो ।

गत वर्ष ४० हजार क्वीन्टल धान खरीद गर्ने लक्ष्य राखेको खाद्य संस्थान धनगढीले यस पटक ६० हजार क्वीन्टल धान उत्पादन गर्ने लक्ष्य राखेको थियो । सोही लक्ष्य अनुसार ६ वटा खरीद डिपो स्थापना गरी कार्तिक १९ गते धान खरीद शुरु गरेको खाद्य संस्थानका डिपोहरुमा पुस २१ गतेदेखि धान बिक्रीका लागि कृषकहरु आएका छैनन ।

खाद्य संस्थान धनगढीकी प्रमुख एञ्जिला बस्नेतले ६० हजार क्वीन्टल धान खरीद गर्ने लक्ष्य रहेकोमा हालसम्म १८ हजार सात सय क्वीन्टल धान खरीद गरिएको बताईन ।

उनले पुष २१ गते देखि कृषकहरु धान बिक्रीका लागि खाद्य संस्थानका डिपोहरुमा नआएको र त्यसयता खाद्य संस्थानले धान खरीद नगरेको जानकारी दिईन ।

नेपाल सरकारले धानको समर्थन मूल्य तीन हजार एक सय ९८ रुपैया तोकेको थियो । खाद्य संस्थानले सोही मूल्यमा ६० हजार क्वीन्टल धान खरीद गर्ने लक्ष्य राखेको थियो । बजारमा धानको मूल्य तीन हजार छ सय रुपैया पुगिसक्दा पनि नेपाल सरकारको समर्थन मूल्य भने यथावत छ ।

बरिष्ठ उद्योगपति अग्रवालले खाद्य संस्थानले खरीद गरेको १८ हजार सात सय क्वीन्टल धानले सुदूर पश्चिमका पहाडी जिल्लामा चामलको अभाव एक हप्ताभन्दा बढि धान्न नसक्ने बताए ।

खाद्य संस्थानले खरीद गरेको १८ हजार नौ सय क्वीन्टल धानबाट करीव १० हजार क्वीन्टल चामल उत्पादन हुने छ, अग्रवालले भने, जवकी पहाडी जिल्लामा एक हप्तामा १० हजार क्वीन्टलको माग छ ।

उद्योगपति अग्रवालको भनाईसंग खाद्य संस्थान धनगढीकी प्रमुख एञ्जिला बस्नेत पनि सहमत छिन् । पहाडमा धानको माग यतिधेरै छ कि हामीले आपूर्ति गर्न सक्ने अवस्था नै छैन, खाद्य संस्थान धनगढीकी प्रमुख बस्नेत भन्छिन्, पहाडी जिल्लाहरुमा अहिले नै खाद्यान्नको अभाव भईसक्यो । जवकी धानको सिजन गईसकेको छैन ।

बजारमा मोटा धानको खरीद मूल्य तीन हजार छ सय रुपैया छ । तर खाद्य संस्थानले समेत अहिले पनि तीन हजार एक सय ९८ रुपैयामा धान खरीद गरिरहेको छ । त्यही कारण कृषकहरु अन्यत्र धान बिक्री गरिरहेका छन् । खाद्य संस्थानको डिपोहरुमा सोही कारण धान बिक्रीका लागि किसानहरु जान छोडेका हुन् ।

 

ताजा समाचार