व्यापारीले चुरेको सुन्तला बारीमै ८५ रुपैयाँमा खरिद गर्दै

धनगढी, कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ घरखेडामा भागरती धामीको परिवारले पाँच रोपनीमा सुन्तला खेती गरेको छ। मङ्गलवार उनीहरूले ३० क्विन्टल सुन्तला बिक्री गरे। प्रति किलोग्राम ८५ रुपैयाँका दरले उनीहरूले सुन्तला बिक्री गरेका हुन्। पाँच रोपनीमा सुन्तला लगाएका धामी परिवारको बारीमा अझै सुन्तला छ।

उनीहरूले एक सिजनमा ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। धामीले भनिन्, ‘सुन्तला बिक्रीका लागि समस्या छैन। व्यापारीहरू बारीमा आउने गरेका छन्। हिजोमात्र हामीले ३० क्विन्टल सुन्तला बिक्री गरेका हौ। ८५ रुपैयाँ किलोको दिए।’ चुरेमा क्षेत्रमा उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बारीमै पुग्ने गरेका छन्। उनीहरूले किसानलाई ८५ रुपैयाँ प्रति किलोग्राम सुन्तलाको होलसेल मूल्य दिने गरेका छन्।

चुरे गाउँपालिकाका किसानलाई सुन्तला बिक्रीका लागि समस्या छैन। एक रोपनीमा सुन्तला खेती गरेका किसानले कम्तीमा एक लाख रुपैयाँ प्रति सिजनमा आम्दानी गर्दै आएका छन्। सुन्तलाको सुरक्षाका लागि मल, सिँचाई, काँटछाँट लगायतको काम गर्नुपर्ने भए पनि चुरे क्षेत्रका सबै किसानले नगरेका हुन्। उनीहरूले वार्षिक कार्यतालिका बनाएर सुन्तलाको हेरचाहा गर्नुपर्ने हो। धामीले मौसमले साथ दिएपछि सुन्तलाको उत्पादन राम्रो हुने बताइन्।

चुरे गाउँपालिकाभित्र ८० र मोहन्याल गाउँपालिकाभित्र २० प्रतिशत सुन्तला उत्पादन हुँदै आएको छ। गत वर्ष १७० हेक्टर क्षेत्रमा गरिएको सुन्तला खेतीबाट एक हजार ८२० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। यो वर्ष तथ्याङ्क सङ्कलन गरिएको छैन। तर, गत वर्षको भन्दा यो वर्ष सुन्तलाको उत्पादन केही कम हुने अनुमान गरिएको छ। हिउँदमा सिँचाइको अभाव र किसानले माघ/फागुनसम्म रुखमा सुन्तला राख्ने भएकाले कम उत्पादन हुने अनुमान गरिएको छ। चुरेमा गत वर्ष प्रति हेक्टर करिब ११ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। हरेक वर्ष चुरेमा सुन्तला खेतीको क्षेत्रफल र किसानको सङ्ख्या बढ्दै गएको छ।

तर, किसानले कृषि प्राविधिकले भने अनुसारको काम भने गरेका छैनन्।  कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले किसानहरूले प्राविधिकले भने अनुसारको नगरेको बताए। उनले भने, ‘सुन्तला उत्पादन राम्रो छ। बिक्री पनि हुन्छ। सबै किसानलाई तालिम समेत दिएका छौ। वार्षिक क्यालेन्डरसमेत बनाएका छौ। उहाँहरूले घरमा राख्नु भएको छैन। हामीले सिकाएका छौ। तर, उहाँहरूले गर्नु भएको छैन।’

चुरेको सुन्तला धनगढी, अत्तरिया, महेन्द्रनगर लगायत कैलाली र कञ्चनपुरका बजारमा बिक्री हुने गरेको छ। व्यवसायीहरू खरिद गर्न गाउँमै पुग्न थालेपछि सुन्तला, जुनार, कागती र अमिलो खेतीमा किसानको आकर्षण बढेको छ।

 

ताजा समाचार