धनगढीमा रेनुका र अञ्जलीको हातबाट जुस पिएर डाक्टर केसीले तोडे अनशन

धनगढी, डाक्टर गोविन्द केसीले तीन दिने अनशन आज (सोमबार) तोडेका छन्। विगतमा आफूसँग भएका सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै केसीले मंसिर २९ गतेदेखि तीनदिने अनशन सुरु गरेका थिए।

कैलालीको धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेका डाक्टर केसीले धनगढी उपमहानगरपालिका–७ की रेनुका चौधरी र वडानम्बर १ की अञ्जली नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। अनशन तोडेपछि उनी धनगढीस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना हुनेछन्।

डाक्टर केसीले यो २१औं सत्याग्रह थियो। डाक्टर केसी कैलालीको गेटामा अनशन बस्न काठमाण्डौँबाट सुदूरपश्चिम आइपुगेका थिए। तर प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्षरत स्थानीयले गेटामा प्रतिष्ठानको विषय नराख्न दबाब दिएपछि उनी धनगढीस्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका थिए।

विश्वविद्यालय स्थापनाको विषय धेरै अघि बढीसकेको अवस्थामा डाक्टर केसीले भने आफ्नो माग पत्रमा गेटा प्रतिष्ठानको विषय समावेश गरेका थिए।

 

ताजा समाचार