शुक्लाफाँटामा बाघ गणना गर्न ८० सेन्टिमिटरको उचाइमा क्यामेरा जडान

धनगढी, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिंङ विधिबाट बाघको गणना गर्ने काम जारी छ। नेपालमा हरेक चार वर्षमा बाघको राष्ट्रिय गणना गरिँदै आएको छ।

२०२२ मा गरिएको राष्ट्रिय गणनामा शुक्लाफाँटामा बयस्क बाघको संख्या ३६ पुगेको छ। तीन सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जलाई २/२ वर्गकिलोमिटरका ९२ ग्रिडमा विभाजन गरिएको छ। हरेक ग्रिडमा बाघ हिडने बाटो पहिचान गरी एक÷एक जोडी स्वचालित क्यामेरा जडान गरिएको छ। १५ दिनसम्म जडान गरिएको क्यामेराका नियमित अनुगमन तथा रेखदेख गर्ने काम भइरहेको छ।

बाघको अनुगमनका लागि जडान गरिएको क्यामेराको स्विच अन गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर सिन्धुप्रसाद ढुंगानाले औपचारिक रुपमा अनुगमन गरेका हुन्। हरेक ग्रिडमा बाघ हिडने क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको छ। पाइला, दिशा र अन्य संकेतबाट विचरण हुने क्षेत्र पहिचान गर्न सकिने राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए।

उनका अनुसार बाघको उचाइ र खुट्टा सम्मको तस्बिर लिन सक्ने गरी ८० सेन्टिमिटरको उचाइमा क्यामेरा जडान गरिएको छ। अनुगमनका लागि प्राविधिकसँगै हात्ती समेत परिचालन गरिएको छ। २०२२ मा गरिएको गणनामा निकुञ्जसँगै एउटा बाघ लालझाडी मोहोना करिडोरमा र अर्को जोगबुडा क्षेत्रमा देखिएको थियो। लालझाडी मोहना करिडोरको बाघ निकुञ्जमा समेत देखिएको छ।

तर जोगबुडा क्षेत्रमा देखिएको बाघ भने अन्त देखिएको छैन। यसकारण भारतको नन्धौर नेश्नल पार्कबाट पनि आएको हुन सक्ने जोशीले बताए। निकुञ्जभित्र निर्माण भइरहेका सडक, सिंचाइ लगायत संरचनासँगै कोर एरियामै भएको बस्तीका कारण बाघ लगायत वन्यजन्तुको विचरणमा समस्या भइरहेको छ। तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएकाहरुको पुर्नस्थापना हुन नसक्दा उनीहरु अहिले पनि निकुञ्जको कोर एरिया (ढाक्का शिविर) मै बसोबास गरिरहेका छन्।

२०२२ को राष्ट्रिय गणनाले समेत निकुञ्जमा देखिएका बाघहरुको विचरण पुर्वी क्षेत्रमा हुन नसकेको देखाएको छ। निकुञ्जमा आहारा प्रजातीको घनत्व राम्रो भएका कारण बाघको संख्या निरन्तर बृद्धि भइरहेको छ। २०२२ को गणना अनुसार प्रति वर्ग किलोमिटरमा १४६ दशमलव दुई आहारा प्रजाती रहेको देखाएको छ। चार वर्षअघिको राष्ट्रिय गणना भन्दा झण्डै दोब्बर हो।

 

ताजा समाचार