डाक्टर केसीले प्रतिष्ठानको नाममा विश्वविद्यालयको प्रक्रियालाई बिथोल्न खोजे : संघर्ष समिति

धनगढी, कैलालीको गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन सुरु गर्न आएका डाक्टर गोविन्द केसीले धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन्। प्रस्तावित स्वास्थ्य विज्ञान विश्वविद्यालयमा केसीलाई विश्वविद्यालय स्थापनार्थ सङ्घर्षरत स्थानीयले अवरोध गरेका थिए। त्यसपछि शुक्रबार राति ७ बजेदेखि धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका हुन्।

गेटामा प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको विषय धेरै अगाडी बढीसकेको अवस्थामा एकाएक डाक्टर गोविन्द केसी प्रतिष्ठानको विषय लिएर अनशन बस्न खोजेपछि अवरोध भएको स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सह–संयोजक आनन्द भट्टले बताए। सङ्घर्षरत समूहले डाक्टर केसीलाई विश्वविद्यालय रोकेर प्रतिष्ठान स्थापनाको माग उठाएर विश्वविद्यालय निर्माण प्रक्रियालाई बिथोल्न खोजेको आरोप लगाउँदै अवरोध गरेका हुन्।

डाक्टर केसीले विश्वविद्यालय बन्न नसक्ने आशय देखाएपछि विरोध गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले बताए। डाक्टर केसीले भने आफूले गेटामा अवरोध भएपछि लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेको बताएका छन्। उनी धनगढीमा तीन दिनसम्म अनशन बस्ने डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैसीले बताए।

डाक्टर केसी २० औँ अनशन पनि धनगढीमै बसेका थिए। २० औँ अनशन १३ दिनसम्म जारी रहेको थियो। केसीले उठाएका अन्य सबै माग जायज भए पनि गेटामा प्रतिष्ठानको विषय सुदूरपश्चिमका लागि जायज नभएको संघर्ष समितिको ठहर छ। विश्वविद्यालय स्थापनाको विषय अघि बढीसकेको अवस्थामा फेरी प्रतिष्ठानको विषय लिएर गेटामै अनशन बस्नु यस क्षेत्रका जनताप्रतिको बेइमानी भएको भन्दै कुनै पनि हालतमा यस्तो हुन नदिने संघर्ष समितिको चेतावनी छ।

शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शनिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघर्ष समितिले गेटामा ६ सय शैयाको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशबासीको माग विपरीत केसीले स्वास्थ्य प्रतिष्ठानको मुद्दा उठाएकाले अनशन बस्न नदिएको बताएको छ। संघर्ष समितिका सह–संयोजक भट्टले डाक्टर केसी प्रदेशबासीको भावना र संघर्ष समितिको आन्दोलनको मर्म विपरीत आएकाले अनशन बस्न नदिएको बताए।

‘लामो समयदेखि मेडिकल विश्वविद्यालय चाहियो भनेर यहाँका नागरिक संघर्ष गरिरहेका छन्। अहिले आएर उहाँले प्रतिष्ठान वा अन्य कुुनै अन्य ढंगले अघि बढाउनुपर्छ भनेपछि जनभावना र हाम्रो आन्दोलनको मर्म विपरीत गएकाले गेटामा अनशन बस्न नदिएकै हो,’ भट्टले भने, ‘मोडालिटीको विषय उठाउनु भनेको विश्वविद्यालयको मुद्दालाई विषयान्तर गर्ने काम हो। प्रदेशबासीको भावना विपरीत अरुको इसरामा बोल्ने छुट केसी मात्र होइन कसैलाई पनि छैन।’

संघर्ष समितिका संयोजक पाण्डेले डाक्टर केसीलाई ६ सय शैयाको अस्पतालसहितको मेडिकल विश्वविद्यालयको मागलाई समेत समेट्न आग्रह गर्दा विश्वविद्यालयको पक्षधर होइन भनेपछि गेटामा अनशन बस्न नदिएको कुरा साँचो भएको बताए। ‘उहाँलाई हामीले ६ सय शैयाको अस्पतालसहितको विश्वविद्यालयको माग पनि समेट्नुपर्यो भनेका थियौँ तर उहाँले म विश्वविद्यालय पक्षधर होइन। म यो माग हाल्दिन भन्नुभयो,’ पाण्डेले भने, ‘उल्टै हामीलाई प्रहरी प्रशासनले लगाएका मान्छे हौँ भनेर तुच्छ व्यवहार गर्नुभयो।

सुदूरपश्चिमको मुद्दामाथि धावा बोलेपछि हाम्रो क्षेत्रमा बस्न दिदैनौँ भनेकै हो।’ सुदूरपश्चिममा राष्ट्रिय गौरवका पश्चिम सेती लगायतका परियोजना तुहिएका बेला सरकारले मेडिकल विश्वविद्यालय स्थापना गर्न प्रक्रिया अघि बढाएर प्रदेशबासीलाई न्याय गरेको उनी बताउँछन्। सुदूरपश्चिमबासीको मुद्दामा धावा बोल्नेलाई प्रदेशबासीले बहिष्कार गर्ने उनले बताए। शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनशन बस्न पुगेका डाक्टर केसी संघर्ष समितिसँग विवाद भएपछि फर्किएका थिए।

 

ताजा समाचार