कञ्चनपुरमा इन्जिनियरलाई कुट्ने ठेकेदार पक्राउ

धनगढीः कञ्चनपुरमा इन्जिनियरलाई कुट्ने ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ। कुटपिटमा संलग्न ठेकेदारलाई पक्राउ गरी अहिले थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएको हो।

जिल्लाको लालझाडी गाउँपालिकामा कार्यरत इन्जिनियर रामप्रसाद अवस्थीलाई कुटपिट गर्ने निर्माण व्यवसायी (ठेकेदार) भीमसेन रानालाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालयले इन्जिनियर अवस्थीलाई कुट्ने ठेकेदार रानालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको छ।

शुक्रबार रानालाई छलफलका लागि इलाका प्रहरी कार्यालय कञ्जमा बोलाएर नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले इन्जिनियर रामप्रसाद अवस्थीले निर्माण व्यवसायी राना बिरुद्ध उजुरी दिएपछि छानबिनका लागि पक्राउ गरिएको बताए।

प्रहरी प्रवक्ता डाँगीले पक्राउ गरेका ठेकेदार रानालाई इलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको बताए। रानालाई अभद्र व्यवहारमा थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डाँगीले जानकारी गराए। गत सोमबार इन्जिनियर अवस्थीमाथि ठेकेदार राना समुहले कुटपिट गरेका थिए। गत बर्ष निर्माण व्यवसायी रानाको निर्माण कम्पनी कन्दकला कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले लालझाडी गाउँपालिका–२ कञ्जमा सडक कालोपत्रेको ठेक्का पाएको थियो।

उक्त ठेक्कामा गुणस्तहीन काम भएको भन्दै इन्जिनियर अवस्थीले प्रश्न उठाएपछि कुटपिट भएको थियो। निर्माण व्यवसायी रानाले भने कुटपिट गरेको विषयलाई अस्वीकार गरेका छन्। उनले योजनाको सुरुवाती चरणदेखि नै इन्जिनियर अवस्थीले आफूलाई दुःख दिएको र सोही विषयको छलफलका क्रममा सामान्य धकेलाधकेल मात्रै भएको बताए।

 

ताजा समाचार