अख्तियारमा उजुरीको चाङ, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भ्रष्टाचार

धनगढी, कैलालीको बर्दगोरिया गाउँपालिका–४ मा रहेको माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालविकास शिक्षिका निरञ्जना मल्लले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ।

हिजो (शुक्रवार) नक्कली प्रमाणपत्रका आधारमा बालविकास सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। उनले सो विद्यालयबाट लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेकाले कैद र जरिवानाको मागदाबी लिई शुक्रवार विशेष अदालतमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

यो त केबल प्रतिनिधि उदाहरण मात्र हो। यस्ता कयौँ उजुरीहरु अख्तियारमा दर्ता हुनेक्रम बढेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा मात्र चालु आर्थिक वर्ष सुरु भएसँगै अनियमितता विरुद्धका उजुरीको संख्या बढेको हो। सबैभन्दा बढी साउन महिनामा एक सय ७३ उजुरी अख्तियारमा दर्ता भएका छन्।

सुदूरपश्चिममा स्थानीय तहसँग सम्वन्धि सबैभन्दा धेरै उजुरी अख्तियार दर्ता हुने गरेको छ। भदौ महिनामा ८५, असोज महिनामा ८२, कात्तिक महिनामा ४१ तथा मंसिर दोस्रो सातासम्म ३९ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएको अभिलेख छ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिर दोस्रो सातासम्म चार सय २० उजुरी दर्ता भएको कार्यालयले जनाएको छ। विभिन्न माध्यमबाट दैनिक रुपमा संघ, प्रदेश र स्थानीय तहमा हुने अनियमितता विरुद्ध उजुरी आउनेक्रम बढेको कार्यालयले बताएको छ।

 

ताजा समाचार