बिहीवारदेखि रानी जमराबाट किसानका लागि पर्याप्त सिँचाई पानी उपलब्ध

धनगढी ,राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाई आयोजनाले किसानलाई आवश्यक पर्ने पर्याप्त पानी उपलब्ध गराइएको छ।

हिजो (बिहीवार) देखि हिउँदे खेतीका लागि आयोजना कार्यालय टीकापुरले किसानको खेतखेतमा पानी पुग्ने गरी सिँचाई सुविधा उपलब्ध गराएको हो। किसानको मागअनुसार सिँचाई पानी उपलब्ध हुने गरी नहर सञ्चालनमा ल्याइएको हो। उपभोक्ता समितिहरुले आजबाट हिउँदे खेतीका लागि पानी सञ्चालन गर्नुपर्ने निर्णय गरेका थिए।

सोहि निर्णयका आधारमा नहरमा पर्याप्त सिँचाई पानी छोडेको आयोजना कार्यालयले बताएको छ। आजदेखि सञ्चालनमा आएको सिँचाई नहरबाट किसानको खेतखेतमा पर्याप्त पानी पुग्ने गरी नहरमा पानी पठाइएको छ। कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाई प्रणाली सञ्चालन हुँदै आएको रानी–जमरा–कुलरिया सिँचाई प्रणालीलाई वृहत सिँचाईका रूपमा विकास गर्न सरकारले यो आयोजना निर्माण गरेको हो।

एक सय वर्षभन्दा पहिलेदेखि यी तीनवटा पराम्परागत कुलाबाट कैलालीमा सिँचाइ सुविधा सञ्चालन हुँदै आएकोमा विसं १९८५ मा कर्णाली नदीमा आएको ठूलो बाढीले तीनवटै कुलोमा क्षति पुर्याएपछि सरकारले एकीकृत सिँचाइ आयोजनाका रूपमा अध्ययन गर्दै रानी–जमरा–कुलरिया सिंचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण अघि बढाएको थियो। करिब २७ अर्ब आयोजना निर्माणको लगानी अनुमान गरिएको छ।

 

 

ताजा समाचार