बागमतीलाई हराउँदै आर्मी केपी ओली कप क्रिकेटको फाइनलमा

काठमाडौं, विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

आज भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। बागमतीले दिएको १ सय २८ रनको लक्ष्य आर्मीले १५औँ ओभरमा भेट्टायो। आर्मीका लागि भीम सार्कीले सर्वाधिक ३९ रन बनाए। उनलाई सोनु देवकोटाले आउट गरे।  कप्तान विनोद भण्डारी २५ रन बनाएर बागमतीका कप्तान सन्दीप लामिछानेको बलमा आउट भए।

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल शुन्य रनमा पेभिलियन फर्किए। कुशल मल्ल २७ रन बनाएर आउट हुँदा सन्दीपको सिकार हुन पुगे। सोमपाल कामी १५ रनमा नटआउट रहे।

बलिङमा बागमतीका कप्तान सन्दीपले २ विकेट लिए भने सुवास खत्री, रित गौतम, सोनु देवकोटा र इशान पाण्डेले एक एक विकेट लिए।

त्यसअघि  पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रन बनायो। बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाए।

कप्तान सन्दीप लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिए।

बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले २ तथा विवेक यादवले १ विकेट लिए।

प्रतियोगिता अन्तरगत आजै विभागीय टोली एपीएफ र मधेश प्रदेशबीच भिड्ने छन्। यी दुईको विजेताले उपाधिका लागि भोलि आर्मीसँग खेल्नेछ।

 

ताजा समाचार