लगानी सम्मेलनमा चिसापानी–राजकाँडा केबुलकारको शिलान्यास गरिने

धनगढी, कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलनको आयोजना गर्दैछ। यसका लागि संघीय सरकारसँग आवश्यक सहयोगको माग गरिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहसहित प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सुदूरपश्चिममा लगानी भित्र्याउने वातावरण निर्माणमा सहयोग गर्न माग गरेको छ।

सुदूरपश्चिममा निजी क्षेत्रको लगानी भित्र्याउन नीतिगत रुपमै सहयोग गरिदिन प्रतिनिधिमण्डलले प्रधानमन्त्री समक्ष भेटेरै आग्रह गरेको हो। भेटमा मुख्यमन्त्री शाहले संघीय सरकारले केही नीतिगत व्यवस्था गरिदिए कृषि, उद्योगलगायत क्षेत्रमा लगानी गर्न चाहनेलाई जमिन, सडक, विद्युत्, पानीलगायतको समस्या समाधान गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सुदूरपश्चिममा लगानी गर्न चाहने ठूला लगानीकर्तालाई बैंकबाट सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने, निश्चित अवधिसम्म कर छुट दिनेलगायत नीतिगत व्यवस्था संघीय सरकारले गरिदिनुपर्ने माग प्रदेशको छ। संघीय सरकारले सहुलियतपूर्ण ऋण, कर छुटलगायत केही विशेष नीतिगत व्यवस्था गरिदिनुपर्ने माग गर्दै प्रदेशको प्रतिनिधिमण्डल संघीय राजधानी पुगेको थियो।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते प्रदेशको अस्थायी राजधानी धनगढीमा लगानी तथा विकास सम्मेलन गर्दै छ। प्रदेशमा निजी क्षेत्रको लगानी भित्र्याउन सम्मेलन महत्वपूर्ण हुने प्रदेश सरकारको अपेक्षा छ। सुदूरपश्चिमले गर्न लागेको लगानी सम्मेलनमा कसरी सहयोग गर्न सकिन्छ भनेर आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने आश्वासनसमेत प्रधानमन्त्रीले दिएका छन्।

भेटमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार निर्माणको शिलान्यास लगानी सम्मेलनका क्रममा गर्ने गरी आफूहरूले तयारी अगाडि बढाएको बताए। केबुलकार सञ्चालनका लागि एक सय विगाहा क्षेत्रफल कम्पनीको नाममा नामसारी भइसकेको छ। चिसापानी–राजकाँडा केबुलकारको लम्बाई तीन दशमलव दुई किलोमिटर रहने छ।

केबुलकार सञ्चालनका लागि आवश्यक एक सय रोपनी जमिन स्थानीयवाट खरीद गरेर कम्पनीको नाममा नामसारी गरिसकिएको छ। चिसापानी–राजकाँडा केवलकार निर्माणसंगै पर्यटकका लागि होमस्टे र रिसोर्ट पनि निर्माण गरिने योजना छ। चार अर्बको लगानीमा स्थानीयको ४० प्रतिशत र ६० प्रतिशत चन्द्रागिरी केवलकार कम्पनीले लगानी गर्ने सम्झौता गरिएको छ। सोहि केबुलकारको शिलान्यास लगानी सम्मेलनका अवसरमा गर्ने तयारी छ।

त्यस्तै मुख्यमन्त्रीसहितको टोलीले शनिबार काठमाडौंमा अर्थमन्त्री प्रकाशशरण महतलाई समेत भेटेर लगानी सम्मेलनमा सहयोग माग गरेको छ। यसअघि सुदूरपश्चिम प्रदेश सरकारका तत्कालिन आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराको सक्रियतामा धनगढीमै वित्तीय सम्मेलनको आयोजना समेत गरिएको थियो। सो सम्मेलनमा निजी क्षेत्रबाट सुदूरपश्चिममा लगानी बढाउन विभिन्न सम्झौता गरिएको भए पनि अहिलेसम्म अधिकांश सम्झौताहरु कार्यान्वयन भएको छैन्।

 

ताजा समाचार